भारतीय राष्ट्रिय कांग्रेस पार्टीले स्थापनाको १ सय ३७ वर्षपछि नयाँ इतिहास रचेको छ। दक्षिण भारतको दलित परिवारका नेता पार्टी नेतृत्वमा पुगेका हुन्। पार्टी अध्यक्ष पदका लागि भएको निर्वाचनमा शशि थरुरलाई हराउँदै मल्लिकार्जुन खड्गे विजयी भएका छन्। उनी पार्टीका ९८औं अध्यक्ष हुन्। प्रायः सर्वसम्मतिबाट नेतृत्व चयन हुने गरेको कांग्रेसले निर्वाचित अध्यक्ष पाएको यो छैटौं पटक हो। थरुरको भन्दा ८ गुणा बढी मत ल्याएर खड्गेले जनतामाझ लोकप्रियता साबित गरे। खड्गेले कुल मतको ८४.१४ प्रतिशत पाए। थरुरले ११.४२ प्रतिशत पाए ।

भारत स्वतन्त्र भएयता पार्टीको कमान्ड प्रायः गान्धी परिवारमा रहँदै आएको थियो। खड्गेको जितले करिब साढे दुई दशक अवधिमा पार्टीको नेतृत्व गैरगान्धी परिवारका नेतामा पुगेको छ। सोनिया गान्धी, राहुल गान्धीलगायतका कांग्रेसका वरिष्ठ नेताहरूको समर्थन खड्गेलाई रहेकाले उनले चुनाव जित्ने अनुमान पहिले नै गरिएको थियो। नतिजा पछि कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीलाई पार्टीमा उनको भूमिकाका विषयमा पत्रकारको जिज्ञासामा उनले भने, ‘म कांग्रेस अध्यक्षको भूमिकामा अवश्य पनि टिप्पणी गर्न सक्दिनँ। यसमा खड्गेज्यूले नै गर्नुपर्छ। जहाँसम्म मेरो भूमिकाको सबाल छ, म एकदमै स्पष्ट छु। सभापतिले मेरो भूमिकाबारे निर्णय गर्नुहुनेछ।’

जितपछिको लक्ष्य

जितपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्गेले पनि पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीको भारत जोडो अभियानमा सघाउन सबैलाई अपिल गरे। आज देशमा महँगी धेरै बढेकाले धनी र गरिबबीचको खाडल धेरै बढेको बताउँदै उनले पूर्वअध्यक्ष गान्धीको कश्मीरदेखि कन्याकुमारीसम्मको भारत जोडो अभियानमा काँधमा काँध मिलाएर अगाडि बढ्न जनतालाई आग्रह गरेका हुन्। देशले स्वतन्त्रता हासिल गरेको ७५ सालको इतिहासमा कांग्रेसले लगातार देशको लोकतन्त्र बलियो बनाउँदै आएको उनले बताए।

देशमा लोकतन्त्र खतरामा रहेको अवस्थामा कांग्रेसले अध्यक्ष पदको निर्वाचन गराएर लोकतन्त्रलाई बलियो बनाउन उदाहरण प्रस्तुत गरेको प्रतिक्रिया पनि उनको छ। खड्गेले अक्टोबर २६ तारिखका दिन पदबहाली गर्ने तालिका छ। गान्धी परिवारले पार्टी अध्यक्ष बन्ने दौडमा भाग नलिने निर्णय गरेपछि खड्गे र थरुर यस पदका लागि दाबेदार बने। थरुर खड्गेसँग भारी मतले पराजित भए। यद्यपि नतिजापछि भारतका पूर्वविदेश राज्यमन्त्री थरुरले खड्गेको प्रशंसा गर्दै भने, ‘हाम्रो पार्टीको पुनर्उत्थान आजदेखि साँच्चिकै सुरु भएको विश्वास गरेको छु।’

पार्टी रूपान्तरणको चुनौती

कांग्रेस अध्यक्ष पदमा रहेकी सोनिया गान्धीको स्थान खड्गेले ओगटेका छन्। गान्धीले १९ वर्ष पार्टीको नेतृत्व सम्हालिन्। सन् १९९८ मा सीताराम केशरीलाई गान्धीले विस्थापित गरेकी थिइन्। पाँचवर्षीय कार्यकालमा दुई वर्ष बिताउन नपाउँदै उनलाई हटाइयो। अध्यक्ष पदमा जितसँगै खड्गेका सामु थुप्रै चुनौती छन्। कांग्रेस पार्टीलाई रूपान्तरण गरेर जनतासँग जोड्नु पहिलो चुनौती हो। आगामी चुनावमा पार्टीलाई मजबुत बनाएर यसको विजयी सुरुआत गराउनु महत्त्वपूर्ण पाटो हो। उनलाई आफू गान्धीको ‘प्रतिनिधि’ नभएको सावित गराउनु पनि कठिन कार्य देखिन्छ।

 

Your Views
Related News