काठमाडौं: मनाङ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्य विजयी बनेका राजीव गुरुङ (दिपक मनांगे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ‍ प्रदेश सभा-२बाट निर्विरोध निर्वाचित भएका थिए । गुरुङले आज एक वक्तव्य जारी गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् ।

उनले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै अघि बढ्नु उपयुक्त हुने ठहर गर्दै पार्टी प्रवेश गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

‘राजनीति कमाउन होइन सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ,’ वक्तव्यमा उनले भनेका छन्, ‘तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।’

उनले भनेका छन्, ‘मेरो उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेपालमा रहेका राजनीतिक दलहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा पाएँ । एकीकृत समाजवादीका नेता कार्यकर्ताको स्वच्छ छवी, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई यो पार्टीमा आजैका मितिदेखि आवद्ध हुँदैछु । अब यही पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने सबैमा हार्दिक अनुरोध गर्दछु ।’

गुरुङमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए ।

उनले मनाङ प्रदेश सभा २ बाट विजयी गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

 

Your Views
Related News