एक “अज्ञात र रहस्यमय” व्यक्तिको “सुटुक्क” तस्बिर खिच्न उनी तीन दिन ठमेल क्षेत्रमा “गौँडा ढुकेर” बसे। पासपोर्ट साइजको एउटा फोटो दिएर उनलाई ती व्यक्ति चिन्न र फोटो खिच्न अह्राइएको थियो। यो सेप्टेम्बर २००३ को प्रसङ्ग हो।

काम त्यति सजिलो थिएन। तैपनि मनमा अलिअलि डर र काँधमा क्यामरा बोकेर ठमेलमा खटिए। ती व्यक्ति “खतरनाक” भएको सङ्केत पाएको भए पनि कति “खतरनाक” थिए भन्ने कुराको भेउ २६ वर्षे ती जोसिला युवकलाई थिएन।

आफ्ना एक साथीले त्यो फोटो चार्ल्स शोभराजको हुनसक्ने बताएको भए पनि उनलाई शोभराज को हुन् भन्ने भेउपत्तो थिएन। तर “कुख्यात हत्यारा” भनेको सुनेपछि उनको मनमा चिसो पसेको थियो।

लामो र पट्यारलाग्दो प्रतीक्षापछि उनले ती व्यक्तिलाई सेप्टेम्बर १६ मा देखे र उनको फोटो खिचे।

त्यो फोटो भोलिपल्ट काठमाण्डूबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्स र उसको भगिनी प्रकाशन नेपाली दैनिक अन्नपूर्ण पोस्टमा प्रकाशित भयो।

तस्बिर स्रोत, RAJESH GURUNG

ती दुई पत्रिकामा फोटोसहित ‘स्कूप’ छापिएपछि बल्ल प्रहरी र प्रशासनले कुख्यात अपराधी शोभराज काठमाण्डूमा निर्विघ्न घुमिरहेको जानकारी पायो।

शोभराजलाई सन् १९७० को दशकमा नेपालमा केही विदेशी पर्यटकको हत्या गरेको आरोप लागेको थियो।

 

जोसेफ नाथनको बाइलाइनमा समाचार छापिएको थियो।

तर फोटोमा कसैको क्रेडिट थिएन।

त्यसरी ठमेलमा शोभराजको त्यो तस्बिर खिच्ने फोटोपत्रकार राजेश गुरुङ थिए। अहिले उनी द हिमालयन टाइम्सको फोटोग्राफी विभागका प्रमुख छन्।

तस्बिर स्रोत, THE HIMALAYAN TIMES

अन्ततः शोभराज पक्राउ परे र उनीविरुद्ध विभिन्न मुद्दा चलाइयो।

शोभराजलाई फर्जी राहदानी प्रयोग गरेको मुद्दा र सर्वस्वसहित जन्मकैद हुनेगरी सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा छुट्टाछुट्टै मुद्दा चल्यो।

सर्वोच्च अदालतको आदेशपछि १९ वर्ष तीन महिना काठमाण्डूको जेलमा बिताएका शोभराज जेलबाट छुटेका छन्। अदालतले उनलाई १५ दिनभित्र स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउन पनि आदेश दिएको थियो।

 

Your Views
Related News