काठमाडौं : चुनावबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन्। तब राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री दाबी गर्न आइतबारसम्मको समय दिइन्। त्यो भनेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनुपर्ने थियो। त्यसका लागि सत्तारुढ गठबन्धनमा छलफल चलिरहेको थियो। तर, पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने हानथापले निष्कर्ष निस्किएन।

ठूलो दल कांग्रेस अडानमै रहेपछि अन्तिम दिन आइतबार तेस्रो दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार बैठकबाट बाहिरिएर बालकोट पुगे। त्यहाँ एमालेसहित दलको नयाँ गठबन्धन बन्यो। त्यही नयाँ समीकरणका १ सय ६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका छन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्दा कांग्रेससहित दलसँग माओवादीको गठबन्धन बनेको थियो। चुनावमा त्यही गठबन्धन कायम भएको थियो। नेताहरूले उही गठबन्धनले नयाँ सरकारले बनाउने बताउँदै आएका थिए। तर, को पहिला प्रधानमन्त्री बन्ने हानथापका कारण नयाँ समीकरण बनेर दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। ओलीलाई सरकारको नेतृत्वबाट विस्थापन गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा पाँचांैपटक प्रधानमन्त्री बनेका थिए।

‘डेढ वर्षअघि गठबन्धन निर्माण हुँदा देउवालाई प्रधानमन्त्री बनाउने र चुनावपछि बन्ने सरकारको पहिलो प्रधानमन्त्री दाहाललाई बनाउने कांग्रेससँग आपसी सहमति भएको थियो’, माओवादी पोलिटब्युरो सदस्य भरतप्रसाद साहले भने, ‘तर, चुनावपछि कांग्रेसको सिट संख्या बढ्यो। त्यसपछि कांग्रेस संख्याले ठूलो पार्टी भएकाले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद माओवादीलाई दिन नसक्ने ठाउँमा पुग्यो।’

कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने भनेको साहले सुनाए। ‘र दोस्रो राउन्डमा मात्रै प्रचण्डजीलाई प्रधानमन्त्रीलाई दिन्छु भन्ने अडान राख्यो’, आइतबार बालुवाटारमा भएको अन्तिम छलफलबारे नेता साहले अन्नपूर्ण पोस्ट्सित भने, ‘यताबाट हामीले पहिलो चरणमै प्रधानमन्त्री हामीलाई दिनुस् र दोस्रो तपाईं कांग्रेसलाई हामी सरकारको नेतृत्व दिन्छौं भन्यौ। कांग्रेसले यसो गर्न सकिन्न भनेपछि गठबन्ध टुट्यो। माओवादी र कांग्रेसबीच भएको सहमति कांग्रेसले नै लागू गरेनन्।’

अहिले दाहाललाई प्रधानमन्त्री बनाउन एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायत नेताहरू लागिपरेका थिए। उनीहरूकै सक्रियतामा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकबाट दाहालको पक्षमा समर्थन जुटेको हो। ‘भित्रभित्र सबैसँग सबैको कुरा हुन्थ्यो। यो गठबन्धन बिनाहल्लाले बन्यो’, एक नेताले भने। अढाई वर्ष माओवादी र अर्को अढाई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएपछि त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन जनाएपछि दाहाल प्रधानमन्त्री बनेका हुन्।

चुनावपछि कांग्रेसको सिट संख्या बढ्यो। त्यसपछि कांग्रेस संख्याले ठूलो पार्टी भएकाले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद माओवादीलाई दिन नसक्ने ठाउँमा पुग्यो।
भरतप्रसाद साह, माओवादी पोलिटब्युरो सदस्य

जनताको आवश्यकता पूरा गर्न माओवादीले सशक्त भएर सरकारको नेतृत्व गर्ने साहले बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, संघीयतालाई समृद्ध बनाउने र विकास निर्माण र समृद्धिको एजेन्डा लिएर माओवादीले सरकार चलाउँछ’, उनले भने, ‘माओवादी र एमालेबीचको एकता टुटेपछि दुवै पार्टी चुनावमा गयो। त्यहाँबाट फर्किएपछि दुवै पार्टीले धेरै कुरा सिकेका छन्। जनताको ठूलो दबाब छ वामपन्थी शक्तिहरू एकबद्ध भएर अघि बढ्नुपर्छ। त्यसैले यो सरकार सम्झौताअनुसार चल्छ। यो गठबन्धन लामो समयसम्म जान्छ।’

दुवै पार्टीको छलफल भए एमाले र माओवादी पुरानौ अवस्थामा फर्किने उनले दाबी गरे। कांग्रेसका पूर्वनेता डा. सिंहले देउवाको कार्यशैली गठबन्धनको म्यान्डेडविपरीत रहेकाले सत्ता गठबन्धन ढलेको बताए।

‘कांग्रेसको कारण माओवादी ३६ सिटबाट १८ सिटमा झर्‍यो। तापनि शेरबहादुरजी ढेड वर्षदेखि प्रधानमन्त्री हुनुहुन्थ्यो। तर, अहिले पनि उहाँ प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन तयार हुनुभएन’, डा. सिंहले भने, ‘यस्तो थोरै हो कि शेरबहादुरजीलाई नै प्रधानमन्त्री बनाउन प्रचण्डजी जन्मिनुभएको हो।’ वामगठबन्धन तोडेर देउवाको नेतृत्वमा सत्ता गठबन्ध बनाएर उनलाई दाहालले प्रधानमन्त्री बनाएको थियो। तर, देउवा दाहाललाई प्रधानमन्त्री बनाउन तयार नभएको उनको भनाइ छ।

‘यो प्रतिस्थितमा हामीले नयाँ गठबन्धन बनाएर प्रचण्डजीलाई प्रधानमन्त्री बनाएका हौं’, उनले भने, ‘प्रचण्डजीलाई एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्री नबनाउँदा नेकपा फुटेको थियो। ढिलै भए पनि ओलीजीले प्रचण्डलाई स्वीकारेर प्रधानमन्त्री बनाउनुभयो।’

दाहालको पक्षमा किन लाग्नुभयो भन्ने प्रश्नमा डा. सिंहले भने, ‘देउवाजीले मेरो टिकट खोस्नुभयो। जब कि म ३०औं वर्षदेखि कांग्रेसमा थिएँ। स्वाभाविकै छ राजनीतिमा एकअर्काले हिसाब किताब गर्छन्।’

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुश्वाहाले मधेस प्रदेशमा आफ्नो पार्टीलाई मुख्यमन्त्री बनाउने कुरा भएपछि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको बताए। ‘जनमत पार्टीको एक सूत्रीय माग छ, जसले मधेस प्रदेशमा मुख्यमन्त्री दिन्छ र जोसँग उभिँदा मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ उसैलाई समर्थ गर्छाैं भनेर देउवा पक्ष र ओली दुवै पक्षमा हामी तयार थियौं’, उनले भने, ‘हामी चुनावमा कुनै दलसँग गठबन्धन गरेर गएका थिएनौं। हामी कुनै बन्धनमा थिएनौं। हामी प्रतीक्षा गरिरहेका थियौं कि जसले मुख्यमन्त्री बनाउन समर्थन गर्छ उसैलाई हामी सहयोग गर्छौं। मधेस प्रदेशमा हाम्रो नेतृत्व मिलोस् र केही नयाँ काम गर्ने अवस्था आउस् भने दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका हौं।’

 

Your Views
Related News