रुसको उड्डयन अधिकारीहरूले वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको बताएका छन्।
विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए।
उनीहरूको मृत्यु भएको बारे क्रेम्लिन वा सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छैनन्।तर आपत्कालीन सेवा प्रदायकहरूलाई उद्धृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ। तिनको परिचय भने खुलाइएको छैन।
वाग्नर समूहद्वारा सूचना
वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ।
जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन्।पछिल्लो पटक यही साता जारी एक भिडिओमा उनी अफ्रिकामा रहेको बताइएको हुद

रुसी संस्थापनसँगको झगडा
युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को झगडा भएको देखिन्थ्यो।बारम्बार उनले रुसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो।
राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात् उनी बेलारुसमा गएर बस्ने बताइएको थियो।
युवा अवस्थामा जेल परेका उनी पछि सफल रेस्टुराँ व्यवसायी बने। पुटिनसँगको निकटताका कारण उनलाई पुटिनको ‘शेफ’ वा भान्से पनि भनिन्थ्यो।वर्षौँसम्म उनले वाग्नर समूहसँग आफ्नो सम्बन्ध अस्वीकार गर्दै आएका थिए।
तर गत वर्षको सेप्टेम्बरमा उनले वाग्नरको स्थापना आफैँले गरेको बताए।सन् २०१४ मा पहिलो पटक वाग्नरको उपस्थितिबारे थाहा भएदेखि नै उक्क समूह बर्बरताका निम्ति कुख्यात भयो।
उक्त समूहका लडाकुहरू युक्रेन, सिरिया अनि पश्चिम अफ्रिकी देशका युद्धहरूमा खटाइएका छन् जहाँ तिनले क्रूर यातना दिएका अनि गैर न्यायिक हत्या गरेका आरोप लागेका छन्।वाग्नरका कैयन् लडाकुहरू जेल परेका अपराधीहरूबाट चयन गरिने गरिएको बताइन्छ। तिनले जेल जीवन जिउनुको साटो वाग्नरमा भर्ना हुने छनोट गर्न पाउने बताइन्छ।