कठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सद्‍भाव भड्काउने गतिविधि नगर्न अपील गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपालीको भावना र चाहनाविपरीत धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको उल्लेख गरेका छन्।

‘केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुऱ्याउनसक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

परापूर्व कालदेखि विभिन्न जात जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै नभई राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएको उनले उल्लेख गरेका छन्। ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुयाई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन। कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुऱ्याउन पनि उचित हुँदैन,’ उनले भनेका छन्।

धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने बताउँदै उनले यसबाट निम्त्याउनसक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता रहेको बताए। ‘यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ-संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

 

Your Views
Related News