
काठमाडौं : साताको सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा पुगेको छ। यो १.४९ प्रतिशत हो।
सेन्सेटिभ इण्डेक्स ५.०९ अंकले घटेर ३७६.६२ विन्दुमा पुग्यो। यसदिन २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिदबिक्री भयो।
दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३८ करोड ८८ लाख ८ हजार १०६ रुपैयाँको सेयर कारोबार भयो। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड ६४ लाख र सिटी होटलको ३७ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिए। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ३.०३ प्रतिशतले घट्यो। यस्तै हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको सेयर २ प्रतिशत बढिले ओरालो लाग्यो।