काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी भिसामा (सिजनल भिसा) कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीच कुनै पनि सम्झौता नभएको स्पष्ट पारेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै सम्झौता नभएको स्पष्ट पारेका छन्।

प्रवक्तासमेत रहेका सहचिव घिमिरेको हस्ताक्षरसहित मौसमी कामदार पठाउने सम्बन्धमा प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै समझदारी नभएको र सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको स्पष्ट पारेको हो।

मौसमी कामदार पठाउनेसम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुने विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयको नाममा नक्कली विज्ञप्ति निकाल्नेमाथि अनुसन्धान तथा कारबाही गर्न माग गरिएको छ।

मन्त्रालयले आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी कुनै पनि विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत आग्रह गरेको छ। यकिन गरेरमात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्न मन्त्रालयले भनेको छ।

केही साताअघि नेपालका लागि कोरियाली राजदूत पार्क थेयङ्ले नेपालबाट मौसमी कामदार लैजानेबारे कुनै सम्झौता नभएको बताएका थिए। राजदूत थेयङ्ले विगतमा नेपालबाट मौसमी कामदारको रूपमा जनशक्ति दक्षिण कोरिया लगेपनि उनीहरू नफर्किएपछि त्यस्ता कामदार लैजान छाडेको बताएका थिए।

किन निकाल्यो मन्त्रालयले विज्ञप्ति? 

मौसमी भिसामा दक्षिण कोरिया कामदार लैजाने भन्दै गिरोह सक्रिय रहेको खुलासा भएको छ। उनीहरू गाउँ-गाउँ पुगेर करोडौं रुपैयाँ उठाउँदै आएका छन्। पछिल्लो समय सिजनल  भिसामा दक्षिण कोरिया लैजाने भन्दै त्यस्ता गिरोहहरूले रकम उठाउँदै आएको स्रोतले बताएको छ। ती गिरोहलाई राजनीतिक संरक्षण भएको स्रोतको दाबी छ।

सिजनल भिसामा दक्षिण कोरिया पठाउने भन्दै गाउँ-गाउँ पुगेर रकम उठाएको मन्त्रालयका उच्च अधिकारीहरूसँग सूचना छ। तर, ठगिएकाहरूले कहीँकतै उजुरी दिएका छैनन्। मानव तस्करका कतिपय गिरोहसँग मन्त्रालयका अधिकारीहरूको संलग्नतासमेत रहेको स्रोतको दाबी छ।

परराष्ट्र मन्त्रालय समेत सिजनल भीसामा दक्षिण कोरिया पठाउने भन्दै पैंसा उठाइरहेकोबारे बेखबर छैन। स्रोतले भन्यो,’मानव तस्करका गिरोहले दक्षिण कोरिया लैजाने भन्दै करोडौं रुपैयाँ उठाएका छन्। पैसा डुब्ने डरले जान चाहनेहरू केही बोल्न सकेका छैनन्। दक्षिण कोरिया सिजनल कामदार लैजान अनिच्छुक छ। प्रहरीमा कसैले उजुरी दिए ललिता निवास र नक्कली भुटानी  शरणार्थी प्रकरणभन्दा भयावह अवस्था सार्वजनिक हुनेवाला छ।’

सर्वसाधरणबाट पैंसा उठाउन केन्द्रदेखि स्थानीय तहका नेताहरू संलग्न रहेको पाइएको छ। इलाम,झापा,दाङ,बाँके,सुनसरीलगायतका विभिन्न जिल्लाहरूबाट मानव तस्करहरूले सिजनल भीसामा दक्षिण कोरिया लैजाने भन्दै रकम उठाउँदै आएका छन्।

सिजनल भीसामा कोरिया लैजान दक्षिण कोरियाबाटै कोरियाली नागरिकहरू समेत काठमाडौं आएका थिए।  उनीहरू पटक-पटक नेपाल आउने र यहाँ उच्च नेता/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरूको मिलेमतोमा सिजनल भीसामा कामदार लैजाने प्रयत्न भइरहेको स्रोतको दावी छ।

केही समयअघि कोरियाली नागरिक र मन्त्रालयका उच्च अधिकारीहरूको बैठक समेत भएको थियो। तर,अहिले दक्षिण कोरिया सिजनल भीसामा कामदार लैजान अनिच्छुक भएपछि गिरोहलाई पैसा दिएकाहरू अलपत्र परेका छन्।

 

Your Views
Related News