बस्तीपुर : अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’’

प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’’

अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्त्व अझ बढेको मन्त्री डा. महतले बताउनुभयो । ‘‘दुरगामी कालमा जे जसको जे महत्त्व छ, त्यो महत्त्वलाई समाजले पूर्णरुपमा आत्मसात नगरेको हुनसक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्त्वका बारेमा मानिसहरुले मन्थन गर्न थाल्छन् ।,’’ मन्त्री डा. महतले भन्नुभयो ।

‘‘प्रदीप गिरीको जीवनकालमा आम जनताले जाने बुझे आत्मसात हामी सबैले गर्न सक्यौ, त्योभन्दा बढी उहाँको अभाव हामीले महसुस गर्ने छौं । उहाँको विचारलाई आत्मसाथ गर्नेछौं,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘उहाँले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान उहाँले सुरु गर्नुभएको हो । त्यो अभियान सबै राजनीतिक दलमा फैलियो । जसको परिणाम हामीले सबै वर्ग र समूहको प्रतिनिधित्व हुने संविधान निर्माण गरेका हौं, त्यसलाई कार्यान्वयन गर्ने तहमा हामी छौं ।’’

‘‘मूल लक्ष्य पछाडि परेको समूह, क्षेत्रलगायत सबैको पहुँचमा देशको साधन श्रोत पुर्‍याउने र सबैको जीवनस्तर माथि उठाउने हाम्रो लक्ष्य हो । हाम्रो साधनस्रोतले भ्याएसम्म शिक्षा, सडक यातायात, सिँचाइ, विजुली पुर्‍याउने हाम्रो लक्ष्य छ । यद्यपि यो वर्ष बजेटको न्यूनताले गर्दा हामीले आवश्यकताअनुसार पुर्‍याउन सकेका छैनौं,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको छ । आउँदो दिनमा जनताका आवश्यकतामा थप लगानी गर्ने अवस्थामा हामी पुग्ने छौं । बाटो, अस्पतालको आवश्यकताको कुरा यहाँ उठ्यो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनेछ । हाम्रो साधन श्रोतले भ्याएसम्म ती आवश्यकता पुरा गर्ने म प्रतिबद्धता व्यक्त गर्दछु ।’’

हाम्रो आवश्यकता ठूलो छ, साधन स्रोत थोरै छ । यो बीचमा हामीले काम गरेको हुनाले यो अवस्था आएको हो । सधैं यस्तो अवस्था रहँदैन । जनताको आवश्यकता पूर्तितर्फ हामी निरन्तर लागिरहन्छौं । महिला दिदीबहिनीमा शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने हाम्रो महत्त्वपूर्ण लक्ष्य छ । सडक विस्तार गरेर गाउँको उत्पादन सहरसम्म पुगोस् भन्ने हाम्रा लक्ष्य भएको मन्त्री डा. महतले बताउनुभयो ।

 

Your Views
Related News