नेपालमा नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट उनको शवलाई पार्टी कार्यालयमा लगेर बुधवारसम्म श्रद्धाञ्जलिका लागि राखिएको एमालेका सचिव प्रदीप ज्ञवालीले बताए।

उनी अहिलेको प्रतिनिधिसभामा सदस्य पनि थिए। उनी इलाम-२ बाट निर्वाचित भएर पुनः सांसद बनेका थिए।

नेम्वाङका छोराहरू देशबाहिर रहेकाले उनीहरू फर्किएपछि परिवारको सल्लाहअनुसार बुधवार बेलुकी उनको अन्तिम संस्कार गरिने जानकारी ज्ञवालीले दिए।

एमालेका संसदीय दलका उपनेता पनि रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्थ्यो।

गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। तर उनी नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

मङ्गलबार बिहान उनको मृत्युको सूचना पाएपछि राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्।

खासगरी नयाँ संविधान जारी गर्न नेम्वाङले खेलेको भूमिका अतुलनीय भएको राजनीतिक दलका नेताहरू र राजनीतिक विश्लेषकहरूले बताएका छन्।

व्यवस्थापकीय क्षमता’

नेम्वाङ संविधानसभाको अध्यक्ष दुई पटक रहँदा माओवादीको तर्फबाट सभासद रहेका खिमलाल देवकोटा उनमा व्यवस्थापकीय क्षमता प्रबल रहेको बताउँछन्।

“विभिन्न दल र विज्ञका विचार सुनेर त्यसलाई व्यवस्थापन गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न उहाँ कुशल हुनुहुन्थ्यो,” देवकोटा सम्झिन्छन्।

विचार नगरी नबोल्ने र प्रतिक्रिया दिनभन्दा सुन्न बढी रुचाउने व्यक्तिका रूपमा उनले आफूलाई चिनाएको देवकोटा बताउँछन्।

त्यसबाहेक कानुनको पृष्ठभूमि भएका कारण शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्, न्यायपालिका र कार्यपालिकाबारे धारणा राख्ने व्यक्तिका रूपमा उनलाई सम्झिनुपर्ने बताउँछन्।

“कानुनको पृष्ठभूमि भएका कारण अतिरिक्त क्षमता, बुझाइले सबै नेतालाई ट्र्याकमा ल्याउन र न्यायपालिकाको सन्तुलन मिलाउनका लागि उहाँको औपचारिक र अनौपचारिक भूमिका थियो। त्यसको अभाव अब खट्किने भयो,” देवकोटाले भने।

“संविधानसभाको अध्यक्ष भएको नाताले नयाँ संविधानको विशेषताबारे केके भएको थियो भन्ने इन्स्टिट्यूशनल मेमोरी उहाँमा थियो, त्यो पनि गुम्यो भन्ने लाग्छ।”

विद्यार्थी राजनीतिदेखि राष्ट्रपतिका उम्मेदवारसम्म

नेम्वाङले चार कार्यकाल संसद्को नेतृत्व गरेका थिए।

गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेससहितको सत्तारूढ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाख देखि २०६३ को माघसम्म थियो भने दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म रहेको थियो। त्यस बेला उनी पुनर्स्थापित संसद्को सभामुख बनेका थिए।

तेस्रो र चौथो कार्यकाल उनले संविधानसभा अध्यक्षका रूपमा संसद्को नेतृत्व गरेका थिए।

उक्त भूमिकामा उनी २०६५ साल साउनदेखि २०६९ साल जेठसम्म र २०७० साल फागुनदेखि २०७२ सालको असोजसम्म रहे।

विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि बनेका थिए। पछि उनी सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए।

त्यसअघि २०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका थिए।

नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछि उनले प्रतिस्पर्धा गरेका सबै मुख्य निर्वाचन जितेका छन्।

विसं २०४८ यता उनी दुई पटक राष्ट्रिय सभामा निर्वाचित भए भने २०५६ यताका पाँचवटै चुनावमा निर्वाचित बने।

विसं २०५६ मा उनी संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भएका थिए।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी इलाम-२ बाट निर्वाचित भए।

नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट भएको थियो। उनी २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए।

 

Your Views
Related News