काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएसँगै आइतबारबाट विद्यालय खुल्ने भएको छ। गृह मन्त्रालयमा शुक्रबार बेलुका सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सहमति भएसँगै आइतबारबाट पठनपाठन सुरु हुने भएको हो।

शिक्षकको माग संसदबाटै संशोधन गरेर पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएपछि शिक्षकले पनि आन्दोलन फिर्ता गर्ने सहमति गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘शिक्षा विधेयक संसदमा दर्ता भइसकेको छ। विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग विधेयकमा समावेश गर्ने गरी शिक्षकहरूसँग सहमति भएको छ।’ शिक्षक महासंघको छलफलपश्चात उनले भनिन् , ‘सहमति भएसँगै शिक्षकहरूले पनि आन्दोलन स्थगित गर्नुहुन्छ।’

आज छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा र नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए।

शिक्षा विधेयकमा १८ बुँदे असहमति राख्दै तीन दिनदेखि आन्दोलनमा सहभागी हुन काठमाडौंमा विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका आएका थिए। सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका थिए। जसले गर्दा देशभरका सामुदायिक विद्यालय बन्द भएका हुन्।

शिक्षकहरूले अघि सारेका यी हुन् माग

१. अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व :– नयाँ ऐनमा कार्यरतहरूलाई विशेष प्राथमिकतासहित आन्तरिक परीक्षाको प्रबन्ध हुनुपर्छ।

२.विद्यालय कर्मचारीको विषय :– हरेक विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्थायित्वको प्रक्रियामा लैजानुपर्छ।

३. बालकक्षा शिक्षकको सवाल :–विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नुभएन।

४. अस्थायी अवधि गणना तथा निवृत्तिभरण :– विश्व विद्यालयमा पेन्सन प्रयोजनका लागि सबै अस्थायी अवधि गणना हुने व्यवस्था छ। त्यसैले विद्यालय शिक्षामा पनि यो प्रबन्ध लागू गरिनुपर्छ।

५. शिक्षक बढुवा :– २०६०/२०६३ मा स्थायी भएका शिक्षकलाई न्याय दिन आवधिक बढुवाको व्यवस्था चाहिन्छ।

६. ग्रेड र तलब विभेद मिलान :– निमावि प्रथम र मावि द्वितीय (उपसचिव) बीचको तलबमा अन्तर छ। यी विभेदको अन्त्य अनिवार्य छ।

७. विद्यालय प्रधानाध्यापक नियुक्ति :–निश्चित सेवा अवधि पुगेका शिक्षकहरूबाट शिक्षक सेवा आयोगमार्फत परीक्षा लिई प्रअ नियुक्ति सिफारिस हुने विधि नयाँ ऐनमा आउन जरुरी छ।

८. पद समायोजन :– सबै स्थायी शिक्षकलाई समान स्तरको माथिल्लो तहको पदमा समायोजन गर्नुपर्छ।

९. शिक्षण काउन्सिल :– शिक्षकको रजिस्ट्रेसन, तालिम तथा पेसागत विकासलगायतका काम गर्ने गरी ऐनमा शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्छ।

१०. शिक्षकको सरुवा र कार्यसम्पादन मूल्यांकन :– शिक्षकको सरुवाको सबै अधिकार पालिकामा प्रस्तावित गरिएको छ। यो प्रबन्धमा परिवर्तन गरी महासंघसँग भएको सहमतिबमोजिम व्यवस्था हुन आवश्यक छ।

११. द्वन्द्व र राजनीतिकपीडित शिक्षकको सेवा अवधि :– द्वन्द्वका कारण विस्थापित भएका वा पेसाबाट निस्कन बाध्य भएका अन्य सबै पीडित पक्षले न्याय पाउँदा सबै द्वन्द्वपीडित शिक्षकले अझै न्याय पाएनन्। ऐनले त्यस्ता सबै शिक्षकहरूलाई न्याय दिनुपर्छ।

१२. शिक्षकको दुर्गम भत्ता :– दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई त्यहाँ कार्यरत निजामती कर्मचारी सरह दुर्गम भत्ता दिने व्यवस्था गर्नुपर्छ।

१३.विद्यालय व्यवस्थापन समितिको संरचना : – विव्यसमा अभिभावकको उपस्थितिको बाहुल्य हुन आवश्यक छ। देशभरि विव्यस गठनमा एकरूपता कायम गर्न ऐनमा अभिभावकको बाहुल्य हुने गरी संरचना तोकिनुपर्छ।

१४. दरबन्दी हस्तान्तरण :– सामुदायिक विद्यालयका शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण हुनु उचित हुँदैन।

१५. संस्थागत विद्यालयका शिक्षकहरूको विषय :– निजी (संस्थागत) विद्यालयका शिक्षकको तलबभत्ता सामुदायिक विद्यालयका शिक्षक सरह हुनुपर्छ।

१६. संविधान प्रदत्त ट्रेड युनियन अधिकार :– ट्रेड युनियन हक यो विधेयकले निस्तेज गर्ने गरी केही दफाहरू प्रस्तावित गरेको छ। संविधानको भावना विपरितका यस्ता प्रबन्धहरू ऐनमा राखिनु हुँदैन।

१७. शिक्षक–कर्मचारीको पेसागत सुरक्षा :– प्रस्तावित विधेयकले शिक्षक–कर्मचारीमाथि विभागीय कार्बाहीको (ग्रेड वृद्धि रोक्ने, बढुवा रोक्ने, पेसाबाट बर्खास्त गर्ने जस्ता) अधिकार स्थानीय तहमा प्रस्ताव गरेको छ। यो प्रबन्धमार्फत राज्यले पञ्चायतकालको ऐनभन्दा निरंकुश प्रबन्ध गर्न खोजको देखिन्छ।

१८. पुरानो सुविधा कटौतीको विषय :– यो विधेयकले लामो समय सेवा गरेका शिक्षकलाई पहिलेदेखि नै दिँदै आएको औषधि उपचार खर्चको थप रकम कटौती गरेको छ। विगतमा पाएको सुविधा हटाउने गरी कानुनी प्रबन्ध गरिनु उचित हुँदैन।

 

Your Views
Related News