काठमाडौं : स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले दुर्व्यवहारका घटनामा संलग्न देखिएकालाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो।

गृह प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्दा हुने दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना नागरिकले सहजै देख्नेगरी व्यवस्था स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

त्यस्तै स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित गर्नसमेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ। ‘केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की लगायतका जिल्लामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गृह मन्त्रालय गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्न यस मन्त्रालय प्रतिवद्ध छ।’

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न र आ-आफ्नो कार्यक्षेत्रमा फर्किन गृहले आह्वान गरेको छ।

 

Your Views
Related News