दोलखा : चीनको तिब्बतसँग सिमाना जोडिएको विगु गाउँपालिका- ३ लामाबगरबाट आइतबार चार किलो सुन बरामद भएको छ। फरार रहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै लामाबगर बस्तीको पारिपट्टी जंगलको ओडारमा लुकाइराखेको अवस्थामा चार किलो सुन बरामद भएको दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक खड्काले जानकारी दिए।

अवैध रुपमा सुन लुकाइएको आशंकामा दोलखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक खड्का, इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामा र सीआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा आएको विज्ञसहितको टोलीले तीन दिनदेखि लगातार खोजतलास गरिरहेको थियो।

यस्तै, सशस्त्र प्रहरी बल चरिकोटका डीएसपी द्धारिका केसीको निर्देशनमा लामाबगरस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटरिच पोष्ट (बिओपी) का प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा ९ जना सशस्त्र प्रहरी पनि अवैध सुनको खोजतलासमा खटिएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलासका क्रममा आइतबार ४ किलो सुन फेला पारिएको हो। लामाबगरबाट चार किलो सुन फेला परेसँगै प्रहरीले अवैध रुपमा भित्रिएको ११ किलो सुन बरामद गरिसकेको छ।

बुधबार राति जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठाबाट ४ किलो सुन बरामद गरेको दोलखा प्रहरीले शुक्रबार केशर तामाङले नै भाडामा लिएको अर्को कोठामा खानतलासी गर्दा थप तीन किलो सुन भेटिएसँगै ११ किलो सुन बरामत भएको हो । सो सुन प्रकरणमा हालसम्म ७ जना पक्राउ परिसकेका छन्।

बुधबार राति विशेष सुराकीको आधारमा चार तोला सुन बरामद गरेपछि विगु –१ लामाबगरका १९ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र २० वर्षीय माधव मगरलाई पक्राउ गरिएको थियो।

त्यसैगरी बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट विगु गाँउपालिका- १ कै ५५ वर्षीय नुर्वुछिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको छ। आइतबार लामाबगरबाट विगु गाउँपालिका– १ का ३० वर्षीय चसमान तामाङ पक्राउ परेका छन्। सोसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो। यसअघि शुक्रबार राज तामाङ काठमाडौंबाट पक्राउ परेका थिए।

चीनले केही समयका लागि खोलेको दोलखाका लामाबगर क्षेत्रको नाका हुँदै सुन तस्करी बढेपछि यो क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ। फरार अभियुक्तको खोजीमा समेत प्रहरी सक्रिय बनेको छ। यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो। प्रहरीका अनुसार यो सधैँ बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरू आवतजावत गर्ने गरेका छन्।

 

Your Views
Related News