तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले दैनिक सामान बोकेका ३० कन्टेनर भित्रिरहेको जानकारी दिए।

‘हामीले अहिले दसैंको सामान बोकेका ३० कन्टेर  दैनिक भन्सार जाँचपास गराइरहेका छौं,’ तातोपानी भन्सार कार्यालयका प्रमुख केसीले भने,‘लामो समयपछि नाका सञ्चालनमा आएका कारण पनि यो पटक यो नाकाबाट ठूलो परिमाणमा दसैंका सामान भित्रिरहेका छन् ।’नाकाबाट दसैं तिहारलक्षित फलफूल आयातसमेत बढेको छ ।

तातोपानी नाकामा चहलपहल बढ्न थालेपछि गत वर्षको ६ महिनामा संकलन भएको राजश्व एक महिनामै संकलन भएको भन्सार कार्यालयले जनाएको छ । नाका खुलेयता पछिल्लो हप्तासम्ममा दुई करोड बढी राजश्व संकलन भइसकेको भन्सार कार्यालयका प्रमुख केसीले बताए।

नेपाली व्यवसायीले अर्डर गरेको सामग्री सहज तरिकाले भित्रिन थालेपछि नाकामा चिनियाँ सामग्रीको गोदाम नै बनेको छ । ‘जाडोका कपडा, जुत्ता, चप्पल, तिहारका सामानहरू, विद्युतीय सामग्रीहरू चीनबाट आइरहेका छन् । यो दसैंमा तातोपानी नाकाबाट सामान सहजरुपमा आएका छन्,’उनले भने,‘सुख्खा बन्दरगाह भन्सार यार्डमा अझै कन्टेनरहरु जाँचपासको पर्खाइमा छन् ।’

पछिल्लो समय तातोपानीमा आपूर्ति केही सहज भएको भन्सार कार्यालयको दाबी छ । तातोपानी नाका भएर चीनबाट दसैं, तिहारजस्ता ठूला चाडपर्वलक्षित जुत्ता, चप्पल, रेडिमेड कपडा, विद्युतीय समानसहित ऊन तथा सबैभन्दा बढी फलफूल भित्रिएको छ ।

२०७२ सालको भूकम्पपछि केही वर्ष नाका बन्द नै भयो । कोरोना महामारी फैलिएपछि फेरि नाका असहज बन्यो यसले विगत केही वर्षदेखि दसैंमा सामान नाकामै रोकिँदा व्यापारी र उपभोक्ताले समस्या भोग्नुपरेको थियो । आठ वर्षपछि सार्वधारणका लागि पनि नाका खुला भएपछि यो वर्ष भने नाकाबाट दसैंको सामान आपूर्ति हुन थालेको छ ।

निर्यात भने ठप्प

आयातमा वृद्धि भएपनि निर्यात भने हुन नसकेको भन्सार कार्यलयले जनाएको छ । चिनियाँहरूले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गर्ने गरेका छन् । नेपालबाट कुनै पनि सामग्री चीनपट्टि लान नदिएको व्यापारीहरु बताउँछन् ।

‘यहाँका उत्पादनहरू चीन जान सकेका छैनन्,निर्यातको लागि केही सामग्रीहरु भन्सारमा आएपनि चिनियाँ व्यापारीले लैजान मानेका छैनन,’भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले भने,‘उनीहरूको मात्रै सामान बिक्री गर्ने चिनियाँ रणनीतिले हामीलाई कुने फाइदा पुगेको छैन । यो विषयमा चिनियाँ अधिकारीसँग गम्भीर छलफल गर्न जरुरी छ ।’ सीमा क्षेत्रमा उत्पादित साग र अर्गानिक निगुरोसमेत चिनियाँ
प्रहरीले पारी लान दिँदैनन् ।

चिनियाँ पर्यटक आगमनमा वृद्धि

तातोपानी नाकामा भएर दैनिक ५०–६० जना चिनियाँ पर्यटक नेपाल प्रवेश गरिरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । पर्यटकको आगमनमा वृद्धि भएपनि नाका व्यवस्थित हुन नसक्दा समस्या परेको छ ।

‘यहाँ कार्यालय पनि व्यवस्थित छैन,आउने जानेको भीड बढिरहेको छ,काम गर्न निक्कै कठिन परिरहेको छ,अध्यागमन कार्यालय कोदारी एक कर्मचारी भन्छन्,‘मुख्य समस्या विद्युतको छ । विद्युत् नियमित नआउँदा चिनियाँ पर्यटकलाई भिसा इन्ट्री गर्दा घन्टौँ कुराउनुपर्ने बाध्यता छ ।’

मितेरीपुलनजिकै रहेको अध्यागमन कार्यालय कोदारीको आफ्नो भवन छैन । भूकम्पले भत्काएको खण्डहर कोठामा दैनिक काम सञ्चालन गरिएको छ । नाकामा जाँचको तरिका पर्यटक हतोत्साही बनाउने खालको रहेको स्थानीय होटल व्यवसायी शेरबहादुर मगर बताउँछन् । ‘चिनियाँहरू नेपाल आउँदा जाँचको क्रममा सामग्री फालिदिने,अनावश्यक दुःख दिने गरेको हामीले देखिरहेका छौं’,उनले भने ।

 

 

Your Views
Related News