नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले सोमवार जारी गरेको तीन दिनको बुलेटिनमा नेपालभरि हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्: “थप केही दिन मनसुन लम्बिने देखिन्छ। झरी लगातार त पर्दैन तर मनसुन पनि सकिँदैन।”

“मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्दा त्यस्तो असर देखा परेको हो।”त्यसको असर खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाका रूपमा देखा परेको छ।

मौसमविद्हरूले यस मौसमी प्रणालीको अन्त्यसँगै यस वर्षको मनसुन समेत सकिने आफूहरूले अनुमान गरेको बताउँछन्।

पछिल्ला केही वर्षमा नेपालमा मनसुन सुरु र अन्त्य दुवै ढिलो हुने प्रवृत्ति देखा परेको बताइन्छ।पछिल्लो एक दशककै विवरण केलाउने हो भने पनि मनसुन अक्टोबर २ पछि मात्र बाहिरिएको छ।

के दशैँसम्मै पानी पर्न सक्छ?

मनसुन लम्बिएकाले कतै यसपालि ‘हिले दशैँ’ हुन्छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा देखिन्छ।तर यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दशैँको टीका परेको छ। अधिकमासका कारण यसपालि दशैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो।

दशैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ ‘सामान्यतः नहुने’ मौसमविद्हरू बताउँछन्। दशैँ छिटो परेको वर्षचाहिँ दशैँमा पानी पर्न सक्छ।

मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको ‘सङ्क्रमण’ले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ।प्रारम्भिक अवस्थामा मनसुन कमजोर हुँदा कहिलेकाहीँ मनसुनको अन्त्यतिर धेरै पानी पर्ने सम्भावना समेत हुने बताइन्छ।

यस पटकको वर्षाको प्रवृत्ति र मात्राको पूर्ण मूल्याङ्कन मनसुन बाहिरिएपछि हुने भए तापनि यस वर्ष मनसुनमा ‘औसतभन्दा कम नै वर्षा भएको’ विभागका वरिष्ठ मौसमविद् पौडेल बताउँछन्।

यद्यपि त्यसो भन्दैमा दशैँ आसपासमा ठूलो पानी पर्न सक्ने सबै सम्भावनालाई नकार्न नसकिने मौसमविद्हरू बताउँछन्।

 

Your Views
Related News