
काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागू हुनेगरी कर्फ्यू लगाएका हुन्।
मंगलबार बिहान मुस्लिम समुदायले निकालेको विरोध र्यालीका क्रममा विवाद उत्पन्न भएपछि संभावित जोखिम एवं शान्त भंग हुन जाने स्थिति देखिएकाले नेपालगंज नगर क्षेत्रमा कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि व्यक्तिहरूले स्टाटस पोष्ट गरेको विषयप्रति विरोध जनाउँदै मुस्लिम समुदायले र्याली निकालेको थियो।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादविवाद भएपछि आज बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।
कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु स्थानीय प्रशासनले अपील गरेको छ । कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।
आदेशको उल्लंघन गर्नेलाई आवश्यकता अनुसार बल प्रयोग गर्न सक्ने बताइएको छ।