काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार गणतन्त्रका लागि ‘स्लो पोइजन’ भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले जनता र संविधान छलेर बनेको यो गठबन्धन संविधान र लोकतन्त्रका लागि विषसहर भएको बताएका हुन्।

‘एकैपटक पुक्लुक्कै पारिहाल्न सक्दैन। तर, यो स्लो पोइजन हो,’उनले भने,’ लोकतन्त्रका लागि र संविधान कार्यान्वयनका लागि यसले स्लो पोइजनको काम गरिरहेको छ।’

उनले गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनताको आवजा कुल्चिएको आरोप लगाए। संसद र संसदीय समितिलाई बिजनेसबिहीन बनाएको भन्दै संसदलाई प्रयोजनहिन बनाउन सरकार लागिपरेको उनको भनाइ छ।

संविधानले गर्नु भनेका काम नगर्ने, गर्न नहुने काम खोजि -खोजि गर्ने यो सरकारको विशेषता रहेको ओलीको भनाइ छ।

प्रचण्ड नेतृत्वको सरकार हिंसाको जयगानमा तल्लीन भएको उनले जिकिर गरे।  हिंसा सुरू गरेको दिनमा उत्सव बनाएको भन्दै त्यो आफूलाई स्वीकार नहुने बताए। । पीडितलाई रुवाएर प्रचण्ड नेतृत्व सरकारले हिंसा सुरू गरेको दिनमा उत्सव बनाएको आफूहरूलाई सह्य नभएको उनले बताए । उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताए ।

सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  सोही विषयलाई लिएर ओलीले यो निर्णय फिर्ता लिन माग गरेका हुन्।

उनले भने,’पीडितहरूलाई रुवाएर उत्सव मनाउन बिदा चाहिने कुरा कदापी स्वीकार्य हुँदैन। आगामी मन्त्रिपरिषद बैठकले फिर्ता गरोस्। ‘ सरकारले राष्ट्रपतिको पटकपटक दुरूपयोग गर्दै  आएको ओलीको भनाइ छ।

 

Your Views
Related News