काठमाडौं : नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रसँगको एकता भाडिएको छ। माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दाउपेचको राजनीतिमा लागेकाले पार्टी एकताका लागि भइरहेको वार्ताको औचित्य सकिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनाएका छन्।

नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रचण्ड प्रवृत्तिका कारण पार्टी एकताका लागि भइरहेको सबै काम रोक्ने निर्णय गरेको छ। पार्टी एकताका लागि माओवादी केन्द्रलाई नेसपाले पठाएको नौ बुँदे प्रस्तावलाई उसले लत्याएको बैठकले निष्कर्ष निकालेको छ।

 

‘हामीले माओवादी केन्द्रसँग संसदीय र प्रादेशिक निर्वाचनमा सहकार्य गर्दै नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया सुरु गरेका थियौं। त्यसक्रममा हामीले नयाँ युगको नयाँ समुन्नत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, संगठनात्मक सिद्धान्त, कार्यशैलीसहित नौ बुँदे पार्टी एकताका आधारसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरेका थियौं,’ नेसपा अध्यक्ष भट्टराईले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘तर, माओवादी केन्द्रका नेतृत्वले त्यो महत्त्वपूर्ण प्रस्तावमाथि छलफल नै गर्न चाहेको छैन।

हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी धु्रवीकरणभन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ। यो स्थितिमा हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँगको वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रस्ट पार्न चाहन्छ।’ सिद्धान्तनिष्ट नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाइरहेको नेसपाले जनाएको छ।

 

Your Views
Related News