काठमाडौं । इजरायली सेना र प्यालेस्टाइन विद्रोही समूह हमासबीच लडाइँ जारीछ ।

हमास लडाकुहरु इजरायली भूमिमा पसेर आक्रमण गर्दा एक सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

यसैगरी इजरायलको जवाफी आक्रमणमा परी करिब २०० प्यालेस्टाइनीको मृत्यु र एक हजार बढी घाइते भएको विवरणहरु सार्वजनिक भएका छन् ।

यो लडाइँको चपेटमा इजरायलमा रहेका नेपालीहरु पनि परेका छन् । परराष्ट्र मन्त्रालयले शनिबार बेलुका दिएको जानकारीअनुसार हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते छन् । उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका छन् र सरकारलाई छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा कृषि विषय अध्ययनसँगै काम गर्न नेपालीहरु पुग्ने गरेका छन् । इजरायलले कृषि क्षेत्रमा गरेका नयाँ–नयाँ प्रयोग र त्यसमा हासिल गरेको सफलतालाई विश्वमै उदाहरणीय मानिन्छ ।

हमास लडाकुको ‘असाधारण’ आक्रमण, गुप्तचरमाथि प्रश्न

शनिबार एक्कासी इजरायलको गाजापट्टीमा हजारौं रकेट आक्रमण भएका थिए । यसैगरी अत्याधुनिक हतियार र बख्तरबन्ध गाडीले सुसज्जित हमास लडाकुहरु कडा सुरक्षा घेरा तोड्दै इजरायलको भूमिमा छिर्न सफल भएका थिए । तर हमासले आक्रमण गर्दैछ भन्ने पूर्व संकेत इजरायलले किन पाउन सकेन र किन रोक्न सकेन भनेर प्रश्न उब्जिएको छ ।

इजरायलको घरेलु जाँच एजेन्सी शिनबेत र विदेशमा जासुसी गर्ने गुप्तचर एजेन्सी मोसाद क्रियाशील छन् । इजरायलको गुप्तचर एजेन्टलाई पश्चिम एसियामै उत्कृष्ट र संशाधनले भरिपूर्ण मानिन्छ । यस्तै इजरायली सेना विश्वमै शक्तिशालीमध्ये गनिन्छन् । तर उनीहरु यसपटक गम्भीर रूपमा चुकेका छन् ।

इजरायलको गुप्तचर एजेन्सीका एजेन्ट प्यालेस्टाइनी समूहका साथै लेबनान र सीरियामा पनि छ्याप्छ्याप्ती रहेको बताइन्छ । विगतमा गुप्तचरको सहयोगमा आतंकवादी नेताहरुको निकै नै सटिक तरिकाले हत्या गरेका घटनाहरु छन् । यी एजेन्टले कुनै टारगेटमा जीपीएस ट्र्याक लगाइदिने र त्यसलाई उपयक्त स्थानमा ड्रोनबाट निशाना बनाएर सिध्याइदिने गरेका छन् । धेरैपटक विष्फोटक मोबाइल फोनको समेत प्रयोग भएका छन् ।

 

Your Views
Related News