परासी :भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले १३ लाख बराबरको कपडा बरामद गरेको छ ।  नवलपरासीको इलाका प्रहरी कार्यालय महेशपुरको गस्ती टोलीले बुधबार बिहान भूजहवा नाकाहुँदै ल्याएको कपडालाई सरावल गाउँपालिका–७ बुलन्दपुरबाट बरामद गरेको हो ।

बरामद भएका कपडामा जयपुरी साडी, सुट, रेडिमेट ब्लाउज, जेन्स कुर्ती, लेडिज सुट, टप्सलगायत १२ लाख ७० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।

बोराभित्र राखेर ल्याएको उक्त कपडा १७ जना व्यक्तिहरूले टाउकोमा राखेर ल्याउँदै गरेका थिए । प्रहरी टोलीलाई देखेपछि बोरा छाडेर संलग्न व्यक्तिहरु भागेको प्रहरीले जनाएको छ । बरामद भएका कपडा  महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

कारोबारमा संलग्न व्यक्तिहरुले सिमावर्ती क्षेत्रका स्थानीयलाई प्रयोग गरेर अवैध कपडा ल्याउने र गोदाममा संकलन गरी जिल्लासहित अन्य जिल्लामा पठाउने गरेका छन् । चाडपर्व नजिकिएसँगै अहिले सिमावर्ती नाकाबाट कुखुरा, चामल, चिनी, कपडा, पटकालगायतका सामाग्रीहरू अवैधरुपमा भित्र्याउने गरिएको छ ।

चाडपर्वमा तस्करीको कार्य बढ्न सक्ने संभावनालाई मध्यनजर गरेर सीमावर्ती क्षेत्रमा निगरानीसँगै गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।

 

Your Views
Related News