काठमाडौं : इजरायलमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन्।

मृतकहरूको शव ल्याउन एउटा कानुनी प्रक्रिया हुन्छ, त्यो पूरा भएपछि आउँछ,’ प्रवक्ता लम्सालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘शवका लागि प्रोटोकल हुन्छ। इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ। ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो।’

जतिसक्दो चाँडो शव हस्तान्तरण गर्न इजरायल सरकारसँग आग्रह गरिएको प्रवक्ता लम्सालले जानकारी दिइन्। ‘इजरायल युद्ध र आपत्कालीन अवस्थामा भएकाले पोस्टमार्टमलगायत प्रोटोकलहरूलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन,’ उनले भनिन्, यस्तो अवस्थामा हामीले अनुरोध गरेका छौं। दबाब दिने अवस्थामा छैनौं।’

इजरायली निकायहरूले हस्तान्तरण गरेलगत्तै शव ल्याउन सरकार जतिबेलै तयारी अवस्थामा रहेको प्रवक्ता लम्सालले बताइन्। हमास समूहको आक्रमणबाट धेरै मानिसको मृत्यु भएकाले पोस्टमार्टममा ढिलाइ भइरहेको जानकारी इजरायल सरकारले दिएको प्रवक्ता लम्सालले बताइन्।

‘मृत्यु भएकाका परिवारले लास भए पनि छिट्टै आइदिए हुन्थ्यो भन्ने आसमा हुनुहुन्छ हामीलाई थाहा छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘इजरायलले तिम्रो देशको नागरिकको शव लैजाउ भनेर बुझाएपछि हामीले ल्याउने हो। त्योभन्दा अगाडि हाम्रो प्रयासमा केही नै हुँदैन।’ आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन्। ‘भर्खरै दुई जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनुभएको जानकारी आएको छ,’ प्रवक्ता लम्सालले भनिन्।

पररा‍ष्ट्र मन्त्रालयका अनुसार चार हजार पाँच सय जना केयरगिभरको रूपमा र २ सय ६५ विद्यार्थी गरी ४ हजार ७ सय ६५ जना नेपाली इजरालयमा छन्। प्रवक्ता लम्सालले नेपाल फर्कनेहरूमा प्राथमिकताका आधारमा विद्यार्थीलाई पहिला ल्याउने र बाँकी नियमित उडानमार्फत फर्कन चाहनेलाई दूतावासले समन्वय गरिदिने बताइन्। उनले कामको लागि इजरायल पुगेका नेपालीहरूबारे भने उपयुक्त समयमा सरकारले पुन :  निर्णय गर्ने बताइन्।

‘सरकारले अहिले तत्कालका लागि खतरामा रहेका नेपाली विद्यार्थीको हकमा चार्टर विमान पठाएको हो। बाँकी नेपालीको हकमा उहाँहरू आउन चाहेको खण्डमा व्यवसायी विमानमा पठाउने समन्वय राजदूतावासले गरिदिनेछ।’ लम्सालले भनिन्’कर्मचारी बंकर भित्रैबाट खटिएका छन्।’

सरकारले इजरायलमा रहेका नेपाली राजदूतलगायतका कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेको बताएकी छन्। पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले राजदूत लगायतका ३ जना कर्मचारी बंकरमै बसेर काम गरिरहेको जानकारी दिइन्।

‘आकाशमा रकेट मिसायल प्रहार भइराखेको अवस्थामा ३ जना कर्मचारी अहोरात्र खटेर काम गर्नु भएको छ। कर्मचारीले काम गरेनन् भनेर हतोत्साहित गर्ने काम नगरौं। बरु सकिन्छ हौसला दिऔं,’ लम्सालले भनिन्। सरकारले बारम्बार बंकरमै बस्ने साइरन लगाइराखेको भन्ने सूचना आएको हुनाले युद्ध भएकाले कर्मचारीको समूहलाई बाहिर निस्किने स्वीकृति छैन। अवस्थालाई बुझिदिन उनको आग्रह थियो।

बेपत्ता जोशीको खोजी कार्य तीव्र पारिँदै

बुधबार रातिसम्म सम्पर्कविहीन रहेका महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको पनि मन्त्रालयले बताएको छ।  लम्सालले भनिन्, ‘जोशीको हकमा विभिन्न अस्पतालमा उनको तस्बिर र पोसपोर्टको फोटोकपी देखाएर पत्ता लगाउने कोसिस भइरहेको छ। इजरायल सरकार सँगै समन्वय गरेर खोजीकार्य तीव्र पारेका छौं।’

जुन नाचगान कार्यक्रम भइराखेको स्थानबाट प्यालेस्टयानी लडाकु समूह हमासले गरेको अपहरणमा थाई नागरिक सँगैको टोलीमै उनी पनि अपहरणमा परेको हुन सक्ने अनौपचारिक जानकारी आएको प्रवक्ता लम्सालले बताइन्।

उनले भनिन्, ‘यो अनौपचारिक सूचना हो। अपहरण लगेर कता लगे कस्तो अवस्था छ केही जानकारी छैन। विपिनको हकमा उच्च प्राथमिकताका साथ खोजी कार्य भइरहेको नेपाली राजदूतावासले जानकारी गराइराखेको छ।’

 

Your Views
Related News