काठमाडौं : कोसी प्रदेश सरकारमा एमाले र कांग्रेसमा विद्रोह गरेका सांसद मिलेर सरकार बनेपछि सत्ता गठबन्धनका शीर्ष नेताले शेखर कोइरालासँग शनिबार लिखित सहमति गरेका छन्। सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोसीमा  एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता शेखर कोइरालासँग लिखित सहमति गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान तीन नेताबीचको भएको छलफलमा लिखित सहमति भएको हो। सहमति पत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं।’

कोसीमा वर्तमान गठबन्धन भत्किएर एमाले र कांग्रेसको सत्ता समिकरण बनेसँगै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका हुन्। केन्द्रको सरकार पनि कांग्रेसका शेखर कोइरालाले कदम चाल्ने राजनीतिक वृतमा चर्चा चल्न थालेपछि उनीहरुबीच आज बिहान छलफल भएको हो। कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्‍याउँदै कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे। तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए। स-शरिर सांसद उपस्थित भएर सनाखत गरेपछि आज कार्की मुख्यमन्त्री मा नियक्त भए।

कोसीको विषयमा यसअघि पनि नेता कोइरालाले पटकपटक पार्टी सभापति देउवालाई भेटेरै उद्धव थापाको स्थानमा अर्को कोही व्यक्तिलाई उठाउन प्रस्ताव गरेका थिए। उक्त विषयलाई सभापतिले नजरअन्दाज गरेपछि कांग्रेसमा अस्तित्व जोगाउने भन्दै कोइराला अघि बढेका छन्। नेता कोइरालालाई पछि सर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले फोनमा कुरा गरेको स्रोतले बताएको छ। तर, कोइरालाले आफू कुनै पनि हालतमा पछि नहट्ने जवाफ दिएका थिए।

कोइराला निकट कांग्रेसकै एक केन्द्रीय सदस्यका अनुसार शुक्रबार बिहान राष्ट्रपति पौडेलले शेखरलाई फोन गरेर कोसीमा मिलेर र मिलाएर जान सुझाव दिएका थिए। पौडेललाई जवाफ दिँदै कोइरालाले भने, ‘सुर्वणशमशेर, गणेशमान सिंह र बीपी कोइरालाको पार्टीलाई धरापमा पार्ने स्थिति ल्याउने काम नेतृत्वबाट भयो। मैले खेलेको भूमिका पार्टी बचाउनका लागि हो। म यो कदमबाट पछाडि हट्दिनँ। पार्टी सभापति, उपसभापति, महामन्त्रीसँगै अन्य पदाधिकारी र अरू शीर्ष नेताले पनि यो विषय बुझ्नुपर्छ।’

 

Your Views
Related News