राजविराज : जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशको सरकारमा रातो किताब (रेडबुक)मा योजना पार्न नै कमिसन दिनुपर्ने बताएका छन्।

राजविराजमा सोमबार आयोजित कार्यक्रममा उनले मधेस सरकारमा योजनाहरू रातो किताबमा पार्नुभन्दा पहिले कमिसन दिनुपर्ने बताए। ‘जनताका लागि आवश्यक र उपयुक्त योजना पार्नका लागि पहिले ठेक्का लिनेहरुसँग भेटनुपर्छ,’ राउतले भने, ‘उनीहरू पासो थापेर बसेका हुन्छन्, ती ठेकेदारलाई खुसी बनाउन पहिले नै कमिसनको ग्यारेण्टी गर्नुपर्छ।’

संघीय सरकारको हालत पनि उस्तै रहेको भन्दै राउतले कमिशनको हिस्सा नमिलेकै कारण रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा पदाधिकारी चयन हुन नसकेको बताए। ‘कमिसन दिनेको प्रतिक्षामा सरकार बसेकाले पूर्वाधार तयारी विकास समितिका पदहरू रिक्त छन् र काम अगाडि बढ्न सकिरहेको छैन,’ राउतले भने।

पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने प्रतिष्ठानको सिलान्यास दुई वर्ष अघि नै भएको हो। प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डीपीआर निर्माण बाहेकको काम हुन सकेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते प्रतिष्ठानको भवन निर्माण कार्यको सिलान्यास गरेका थिए।

ओलीकै पालामा एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको नीतिअनुसार २०७५ पुस १६ गते मन्त्रिपरिषद्को बैठकले राजविराजमा प्रतिष्ठान निर्माणको निर्णय गरेर राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिएको छ। अवधि सकिनै लाग्दा पूर्वाधार तयारी विकास समितीका अध्यक्ष डा. रोहित पोखरेलले राजीनामा दिएर प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बने। प्रतिष्ठानका कार्यकारी निर्देशन रहेका गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रणजित कुमार झा सरुवा भएर अन्यत्र गए। दुबै मुख्य पद हालः रिक्त छ। प्रष्ठिानमा कार्यरत तीन जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारीविहीन समेत बनेको छ।

रामायण कथाको प्रसंग निकाल्दै राउतले आफूलाई रामको श्रेणीमा र कार्यकर्तालाई बानर सेनासँग तुलना गरे। उनले बानर सेनालाई नथाक्न आग्रह गरे। ‘अहिले सेतु बाँधेर लंका प्रवेश गरिएको छ। युद्ध बाँकी छ, विजय पनि बाँकी छ,’ उनले भने। प्रतिनिधिसभामा सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले हराएको आफ्नै उदाहरण दिँदै उनले सत्यमा अटल रहेर अगाडि बढेमा जित निश्चित हुने बताए।

‘रामले सबैको मर्यादा राखेर जटायु, बानर, भालु सबैको सहयोग लिए, समुद्रसँग पनि बाँध बाँध्न अनुमति लिए,’ राउते थपे, ‘नारायणकै अवतार रामले नसकेर वा थाहा नपाएर सहयोग लिएका होइनन्, सबैको मर्यादा राख्न सहयोग लिएका हुन्, सबैको मर्यादा राखेर सत्यमा अडिग रहेकैले रामको जित भयो। हाम्रो पनि हुनेछ।’

आफूहरूको प्रयास र पहलमा सप्तरीका लागि धेरै योजना पारे पनि बीचैमा हराउनसक्ने भएकाले सचेतनापूर्वक पहरेदारी गर्न उनले आग्रह गरे। सरकारमा बसेर सरकारकै विरोध गरेका राउतले सरकार छाड्न नसक्नुको कारणहरुबारे पनि चर्चा गरे। आफूहरूले सरकार छाडेर चुनौती दिने अवस्था नरहेकाले चाहेजस्तो काम गर्न नसके पनि जनताका पक्षमा थोरै काम गर्न सकिने स्वार्थमा सरकारमा बस्नु परेको बताए।

‘रातारात जादु हुँदैन तर सरकारमा बस्नुको फाइदा देखिँदैछ। पहिले कसैले सुन्दैन थिए तर सरकारमा बसेपछि स्थानीय तहका प्रमुख र प्रशासकिय अधिकृतहरूले सुन्न थालेका छन्,’ उनले भने।

अनुभव लिन र साथीहरूलाई नेता बनाउन पनि सरकारमा बस्नु परेको भन्दै राउतले यसलाई विरोधीहरूले भ्रम फैलाएर षड्यन्त्र गर्न खोजिरहेको बताए। मधेस प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले पाँच वर्ष सम्म काम गरेर पुनः नेतृत्व सम्हालेका जसपाका नेताहरू जनमत पार्टीको कामले आतंकित बनेको बताए। ‘हाम्रो माँग र योजना सुन्ना साथ उनीहरू त्रस्त र आतंकित हुन्छन्। घुस्याहाहरू नकारात्मक भई अवरोध सिर्जना गर्छन्,’ उनले भने।

आफूहरूको गतिविधि देखेर जसपालाई दिनरात टाउको दुखाई भएको उनले बताए। यसअघि मधेस प्रदेश सरकारले कार्यकर्ताहरूलाई अरबौ रकम बाँडेर जनतासँग बेइमानी गरेका कारण नियोजित तरिकाले कतिपय योजना हटाइएको प्रदेश मन्त्री यादवले बताए। ‘विगतमा मधेस प्रदेश सरकारले गरेको भ्रष्टाचारको लेखाजोखा नै छैन,’ उनले भने।

मधेसको नाममा भोट बटुलेर जसपाले संघियताविरोधी काम गरिरहेको उनले आरोप लगाए। माओवादीबाट टिकट नपाएपछि उम्मेदवारी मनोनयनकै दिन जनमत प्रवेश गरेर प्रदेश सांसद बनेका यादवले बोल्दा बोल्दै एक पटक श्रद्धेय अध्यक्ष कमरेड भनेपछि प्रसंग बदलिएका थिए।

मधेस प्रदेश सांसद सतिशकुमार सिंहले मधेस प्रदेशमा कमिशनखोरी काम गर्नकै लागि मन्त्रालय फुटाएर मन्त्री थपिएको बताए। यसअघि तीन सय शय्याको राजविराज अस्पताल भनेर जनतालाई झुक्याइएको रहस्य पनि सिंहले सुनाए। तीन सय शय्या भनेर प्रचारबाजी गरिएको अस्पतालको कागजातमा ५० शय्या अस्पतालको स्वीकृति रहेको उनले बताए।

वातावरण राम्रो नभए राम्रो डाक्टर नआउने भन्दै सांसद सिंहले उपचारका क्रममा कथमकदाचित मानिस मरेमा डाक्टरलाई कुट्ने प्रवृतिको उनले चर्को विरोध गरे। कार्यकर्तालाई धैर्य गर्न आग्रह गर्दै सिंहले १ वा २ सिट जिताएर परिवर्तन गर्न नसकिने बाध्यता सुनाए। मधेस प्रदेशबाटै ५२ सांसद बनाउन सकिने भएकाले त्यसतर्फ पार्टी अभियानका साथ लागेको उनले बताए।

 

Your Views
Related News