काठमाडौँ । काठमाडौँको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुङ्गो लागेको थिएन । जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि अब यो परियोजना अघि बढ्न सक्ने अवस्थामा पुगेको छ ।

त्यसैअनुसार सरकारले जडीबुटी-कोटेश्वर-तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी ऋण सम्झौता गर्ने गृहकार्य गरिरहेको सडक विभागको विकास सहायता महाशाखाले जनाएको छ ।

कोटेश्वरमा बिहान–बेलुकीको पिक आवरमा यहाँ यातायात साधनहरू जाम भएर २ देखि ३ घण्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो ।

कोटेश्वरमा दिएको तीन प्राविधिक विकल्पमध्ये विभागले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोक सहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो ।

जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरू थिए । तीनकुनेपट्टिबाट बालकुमारी जाने रिंगरोडमा ९ अर्ब लागतमा १.३ किलोमिटर फ्लाइओभर बनाउने पहिलो विकल्प थियो । कोटेश्वर चोक वारपार गर्ने गरी २४ अर्ब १.२ किलोमिटरको दुईतर्फी सुरुङमार्ग बनाउन सकिने दोस्रो विकल्प थियो ।

फ्लाइओभर सहित तीनकुने(जडीबुटी दुईतर्फी सुरुङमार्ग तेस्रो विकल्प थियो । करिब २४ अर्ब लागतको यो परियोजना तयार गर्दा रिंगरोडको आवतजावत रोकावटरहित हुने जाइकाको अध्ययनले देखाएको थियो । यही तेस्रो विकल्प रोज्दै सरकारले जाइकासँग यसका लागि ऋण लिन तयारी गरिरहेको हो ।

जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसैअनुसार जाइकाले अन्तिम प्रतिवेदन दिएको छ ।

 

Your Views
Related News