बझाङ : इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको आज दाहसंस्कार गरिएको छ। प्यालेस्टाइनी समूह ‘हमास’को आक्रमणमा परी गत असोज २० गते मृत्यु भएका गणेशको आज सिमभाडीस्थित सेती नदी किनारमा अन्तिम संस्कार गरिएको हो।

बिहीबार बिहान ९ बजे काठमाडौंबाट ल्याइएको शव आज दिउँसो १२ बजे उनको निवास भोपुर पुगेको थियो। छोराको शव देखेर भक्कानिएका गणेशका आमाबुबा अचेत अवस्थामा छन्।

उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए। उनको शवमाथि नेकपा माओवादी केन्द्रले पार्टीको झण्डा पनि ओडाएको छ। उनी कक्षा ११ देखि विद्यार्थी राजनीतिमा लागेका उनी अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति, सुदूरपश्चिम विश्वविद्यालय कमिटीका सचिव पनि हुन्।  २०५५ सालमा धनलाल नेपाली र लक्ष्मी आउजीको कोखबाट जन्मिएका गणेश पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए।

चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आइएस्सी पास गरेका उनी टीकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए। आठौं सेमेस्टरको इन्टर्नसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए।

गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणको सिकार भए। उक्त आक्रमणमा गणेशसहित १० जना नेपालीको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन्।

 

Your Views
Related News