काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना दलको औचित्य सकियो भन्नेहरूविरुद्ध प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका छन्। नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री दाहालले पुराना दलमाथि प्रश्न उठाउने कोसिस भएको बताए।

‘पुराना राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न उठाउने कोसिस भएको छ। प्रश्न उठाउनेको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ। त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको पनि देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ,’ उनले भने।

उनले प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएर त्यस प्रश्नको जवाफ दिने बताए। ‘पछिल्लो समय मेरो दौडधुप देख्नुभयो भने, सबै राजनीतिक दलहरू एकैठाउँ उभिएर जवाफ दिने तयारी भइरहेको छ। सबै राजनीतिक दलले जवाफ दिने दिन छिट्टै आउँदैछ छिट्टै। समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ,’ उनले भने।

उनले चियापान कार्यक्रमले राजनीतिक दलहरूलाई एकतामा बाँध्ने र राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सहयोग गरेको बताए। ‘चियापान कार्यक्रमले राजनीतिलाई स्थिरतातिर लैजाने, सहमति र समझदारीको बाटोमा लैजाने र आउने दिनमा जनताको अपेक्षाअनुसार विकास निर्माण समृद्धिलाई अगाडि बढाउन कुनै न कुनैरूपले मद्धत गरेको छ,’ उनले भने।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ समझदारी बनेको समेत दाबी गरे। ‘प्रधानमन्त्री भएदेखि नै मैले राजनीतिक दलहरूबीच सहमतिको प्रयास गर्दै आएको छु। प्रतिपक्षी दलका नेतासँगको भेट पनि त्यही प्रयासको नयाँ कडी हो। मलाई लाग्छ, विस्तारै समझदारी बन्दै जान्छ,’ उनले भने।

 

Your Views
Related News