काठमाडौं : नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन बडादसैं, तिहार, नेपाल सम्बत् र छठलगायत पर्वका अवसरमा कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले दलहरूप्रति आएको आलोचनालाई आफू र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको बताएका थिए।

राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै देउवाले, ‘सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै छ। राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन।’ कांग्रेस पार्टीभित्र गुटैगुटका कारण बेमेल भइरहेको देखिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘दलभित्रको फरक मत हुन सक्ला, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौं। यति बुझ्नुस् कांग्रेस लोकतान्त्रिक पार्टी हो। यहाँँभित्र असन्तुष्टि पोख्न पाइन्छ। तर, हामी एकजुट छौं।’

प्रधानमन्त्री पुष्पकमल दाहालले चियापान संस्कृतिले नेपाली राजनीतिमा आपसी एकता र सद्भावलाई बलियो बनाउन भूमिका खेलेको बताए। उनले भने, ‘यो अभ्यासले मुलुकलाई स्थिरता, विकास र स्थायी शान्तिको बाटोमा अग्रसर बनाउन सहयोग पुर्‍याउँछ। चियापान संस्कृतिले आपसी एकता र सद्भाव बलियो बनाएको छ।’ दाहालले चियापानले दलहरूबीच सहमति र समझदारीको बाटोमा अघि बढ्न मार्गदर्शन मिल्ने बताए। दाहालले आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको बताउँदै भने, ‘मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको छ। यस्तो बेला सम्पूर्ण दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिनुपर्छ।’

दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने भन्दै, ‘नेपाली जनताको आवश्यकता सम्बोधन गर्न भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्नेछ। महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लाग्नु भएको छ। नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुने क्रम बढिरहेको छ। यो राम्रो कुरा हो। यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल गरियो त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमण हुने भएको हो।’

कार्यक्रममा शुभकामना दिन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरूमाथि प्रश्न नउठेको दाबी गरे। ‘हामीमाथि प्रश्न उठेको छैन, तर प्रश्न उठाउने प्रयास भएको छ। यथोचित समयमा जवाफ दिन्छौं।’

ओलीसँगै अन्य नेताहरू विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छविलाल विश्वकर्मालगायतका नेताहरू सहभागी भएका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अप्ठ्यारो चुनौतीका बीच परिवर्तन चाहने शक्ति एकजुट हुनुपर्ने बताए।  रास्वपा सभापति रवि लामिछानेले भने सभापति देउवा र ओलीको कुरालाई घुमाएर जवाफ दिँदै भने, ‘हाम्रो प्रतिस्पर्धा दलसँग होइन। हामीले लड्ने देशको गरिबी र भ्रष्टाचारसँग हो। दलबीच चुनावमा मात्रै प्रतिस्पर्धा हो। तर, हामीले लड्नुपर्ने विषय साझा छन्।’

चुनावका बेला लोकतान्त्रिक प्रतिस्पर्धा भए पनि दलहरू साझा मुद्दामा एकैठाउँमा उभिनुपर्ने उनले बताए। भने, ‘चुनौती अन्त छैन। दल बनाउनुपर्ने भएकाले चुनौती हामी आफैंंभित्र छ। आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हामीलाई छ।’

कांग्रेस संस्थापक बीपी कोइरालाको मेलमिलापको सान्दर्भिकता अझै पनि रहेको भन्दै उनले यो मुद्दा केन्द्रित हुन आवश्यक रहेको बताए। ‘मेलमिलाप शब्दमा मात्रै भनेर हुँदैन, जनताको मुद्दामा केन्द्रित हुन सकियो भने यसको सान्दर्भिकता अझैं बढ्छ।’

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपालदेखि दलका नेता र कूटनीतिक नियोगका पदाधिकारीसम्मलाई देउवा आफैंले स्वागत गरेका थिए।

 

Your Views
Related News