काठमाडौं : आइसिसी टि- २० विश्वकप एसिया फाइनल छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

 

नेपालको जितका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रनको योगदान गरे। उनले ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ बनाए।

खेलमा कप्तान रोहित पौडेल र कुशल मल्ल नट आउट भए। पौडेलले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन र मल्लले १ बलमा एक छक्का हानेर अविजित रहे।

यसैगरी आसिफ शेखले २६ बलमा २७ रन बनाएका थिए।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। निर्धारित २० ओभरमा सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ३० बलमा सर्वाधिक ४६ रन बनाएका थिए।

यसैगरी आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाउन सफल भए। यसैगरी मनप्रित सिंहले २४ रन, अक्षय पुरी १३ रनमा नटआउट रहे। अन्य खेलाडीले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि अविनाश बोहोराले ३ विकेट, सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले समान २/२ विकेट लिए।

 

Your Views
Related News