मुगु : जिल्लाको छाँयानाथ रारा नगरपालिका-६ मुन्दुमा सामूहिक रूपमा हत्या गर्नेलाई पक्राउ नगरेसम्म परिवारले शव नबुझ्ने भएका छन्।

यही कात्तिक ८ गते २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

घटना भएको ६ दिन भइसक्दा पनि प्रहरीले हत्यारा पक्राउ नगरेको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका हुन्। हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर सावर्जनिक गरेपछि मात्र शव बुझ्ने श्रीदेवीका पति दीपक बोहोराले बताए।

‘घटना भएको ६ दिन बितिसक्दा समेत प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई समात्न सकेको छैन। शवको पोस्टमार्टम भएको छ। पोस्टमार्टम भएपनि हत्यारालाई पक्राउ नगर्दासम्म शव बुझ्दिनँ।’

श्रीदेवीका काका खेम रावलले शव अस्पतालमा रहेको र आफन्तले खान सुत्न समेत नपाएका बताए। प्रहरीले पक्राउ गर्छौं भन्ने बाहेक अरू काम नभएको उनले बताए।

हत्यामा संलग्नलाई तत्काल पक्राउ नगरे सदरमुकाम गमगढी जोड्ने सबै सडक यातायात तथा हवाई यातायात समेत अनिश्चितकालका लागि बन्द गर्ने उनले चेतावनी दिए।

घटना भएको दुई दिनपछि प्रहरीले जानकारी पाएको थियो। जानकारी पाउन बित्तिकै पिना प्रहरी चौकी र प्रहरी कार्यालयबाट प्रहरी पुगेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालसहितको टोली अहिले यही छ। नेपालगन्जबाट तालिम प्राप्त कुकुरसमेत लगेर  प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले घटनाको अनुसन्धानमा स्थानीयले सहयोग नगरेको बताए। उनले भने, घटनाको अनुसन्धानमा स्थानीयको सहयोग पाएका छैनौं मृतकका आफन्तहरूले लास नबुझ्ने भनेर प्रहरीलाई दवाव दिइरहेका छन्। यसले अनुसन्धानमा झन ढिलो हुनसक्छ।’

 

Your Views
Related News