लुम्बिनी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि अपिल गरेका छन्। नेपालको औपचारिक भ्रमणका क्रममा मंगलबार लुम्बिनी पुगेका महासचिव गुटेरेसले विश्व शान्ति तथा मानव समुदायबीचको सद्‍भाव र भातृत्वका लागि अपिल गरेका हुन्।

लुम्बिनी आउनुअघि आइतबार काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुगेका थिए। महासचिव गुटेरेसले आजै पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर पुगेका थिए।

त्यहाँ उनले विकसित  तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसका लागि नेपालले भोगिरहेको बताएका थिए।

 

उनले जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उल्लेख गरे। विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताए।

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौं आएका हुन्। महासचिव गुटेरेस आजै अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

 

Your Views
Related News