बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ। बाँके प्रहरीका प्रवक्ता एवं डीएसपी नारायण डाँगीले रिगललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको जानकारी दिए। अब अदालतले कारागार पठाउनेछ।

बिहीबार सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरिदिएको छ। आदेशलगत्तै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा.कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी सरकारको निर्णय बदर गरिदिएको हो।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्। सर्वोच्चले आममाफीलाई उल्ट्याइदिएको हो।

रिगलले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

 

Your Views
Related News