बागलुङ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा संघीयताको विरुद्धमा प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस बागलुङको ऐतिहासिक जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शुक्रबार पार्टी सभापति देउवाले संघीयताको विरुद्धमा लाग्ने शक्तीका विरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको भएकोले संविधान र संघीयताको कार्यान्वयन गरेर छाड्ने बताए।

देउवाले पछिल्लो समय आइरहेका अफवाहप्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘पछिल्लो समय संविधान र संघीयताको विरुद्धमा केही शक्तिले विभिन्न अफवाह फैलाएका छन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने,‘संविधान र संघीयताको विरुद्धमा आउने अफवाहहरु प्रति विश्वास नगर्नुहोला।’

नेपाली कांग्रेस, सबै पार्टी र शिर्ष नेताहरूको संलग्नतामा यो संविधान जारी भएको र त्यसलाई सबैले कार्यान्वयन गर्ने देउवाको भनाइ छ। ‘कसैले चाहँदैमा संविधान र संघीयता विफल हुँदैन,’ उनले भने,‘कांग्रेसको दायित्व संविधानको रक्षा गर्नु र कार्यान्वयन गराउनु हो। त्यसैले संविधान कार्यान्वयन गराउन सबै नेता कार्यकर्ताले एक जुट बन्नुपर्छ।’

 

उनले कांग्रेस देशको ठूलो दल भएको बताउँदै आगामी निर्वाचनमा पनि ठूलो दल बनाउने घोषणा गरे। उनले कार्यकर्तालाई पनि सोहीअनुसार लाग्न आग्रह गरे। पार्टीभित्र बेकारका माग आउँदा आफूले बेवास्ता गरेको भन्दै देउवाले जायज माग सम्बोधन गरेर अगाडी बढीरहेको दाबी गरे। ‘ठूलो पार्टीमा केही असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन्,’ उनले भने, ‘बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो।’

सम्मेलनमा १ सय ५ जना ७५ वर्ष काटेका ज्येष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको छ। शुक्रबारबाट सुरु भएको सम्मेलनमा भाग लिन १ हजार ६ सय प्रतिनिधि र अतिथि गरेर दुई हजार कार्यकर्ता जिल्ला सदरमुकाम आएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन उद्घाटनसहित सम्मान लगायतका कार्यक्रम भएको र दोस्रो दिन क्षेत्रीय प्रतिनिधिबाहेकका १ सय २० जना कार्यकर्तालाई प्रशिक्षण दिइने जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए।

उनले महामन्त्री विश्वप्रकाश शर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य लगायतले संविधान, संघीयता, पार्टीको संगठन र विकास एवं उद्यममा युवाको संलग्नता बारेमा प्रशिक्षण गर्ने बताए।

 

Your Views
Related News