
अब म्युचुअल फण्डले आरक्षणको आईपीओ बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले आज निर्देशन जारी गर्दै ६ महिनासम्म यस्तो शेयर बिक्री गर्न रोक लगाउने जनाएको छ।
निर्देशनमा भनिएको छ -‘ संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।’
बोर्डका अनुसार सो निर्देशन २०८० कार्तिक २१ गतेबाट लागू हुने छ। सोहि बमोजिमको व्यवस्था गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई बोर्डले निर्देशन दिएको हो।
तर आइपिओ बाँडफाँड भएको आगामी छ महिना मै म्युचुअल फण्ड परिपक्क हुने भए, त्यस्ता योजनालाई भने निर्देशनले नरोक्ने जनाएको छ।
भनिएको छ -‘धितोपत्र बाँडफाँड भएको मितिले छ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने पाइने छ।’