काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित उनकै निवासमा एनआरएन टोलीले भेटवार्ता गरेको हो ।

भेटवार्तामा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा,महासचिव बुद्धि सागर सुवेदी,युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगाएत सहभागी थिए ।

सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनस्निर्माणमा पनि आफूहरुले सरकारसँग समन्वय गरेर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

जवाफमा उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नु पर्ने र त्यसका लागि एनआरएनएले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताए । आगामी दिनमा पनि सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरुलाई उनले धन्वयवाद पनि दिए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ रिक्टर स्केलको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति वभए पछि अहिले राहत वितरण र उद्धार कार्य भइरहेको छ ।

 

Your Views
Related News