जाजरकोट : भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका सानीभेरी गाउँपालिकामा र आठबीसकोट नगरपालिकामा राहत वितरण गरिएको हो।

सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम बाँडिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

उनका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ। ‘अब कागजात मिलाउन बाँकी रहेका १२ मृतकका ९ घर परिवारलाई नगद रकम वितरण गर्न बाँकी छ, यसमा ५ जना जिल्ला बाहिरका रहेका छन्, जिल्ला बाहिरका हकमा कागजात पुगेपछि सम्बन्धित जिल्लामै राहत पठाइने छ।’प्रमुख जिल्ला अधिकारी पन्तले भने।

सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो। सरकारले निर्णय गरे अनुसार प्रति मृतक २ लाखका दरले नगद राहत वितरण गरिएको छ। एकै घरका एक जनाभन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र बाँकीलाई एक लाखका दरले थप रकम दिइएको छ। भूकम्पमा परि एकै घरका चार जनासम्मको मृत्यु भएको छ।

सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा ५ करोड रकम पठाएको थियो। जसबाट ६७ लाख नगद राहत वितरण गरिएको छ भने अब १२ जना मृतकका परिवारलाई वितरण गर्न बाँकी छ। वितरण पश्चात् बाँकी रहेको रकम भूकम्प पीडितका अस्थायी आवास निर्माण तथा पुनर्स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए।

रुकुम पश्चिममा भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो। एक सय एक जनाको मृत्यु भएको जाजरकोटमा भने अहिले सम्म नगद राहत वितरण गरिएको छैन।

 

Your Views
Related News