काठमाडौं : काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहानदेखि भीड लागेको छ ।  बालगोपालेश्वर मन्दिर भाईटीकाको दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज बिहानैबाट दिनभर खुला रहने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।  साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको थियो।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ।

 

Your Views
Related News