काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालले कार्बन उत्सर्जन कम गर्न ४५ प्रतिशत भूभाग जंगलका रूपमा स्थापित गरिरहेको बताए । कार्बन उत्सर्जन कम गर्न सवारीसाधन समेत विद्युतीयलाई बढावा दिइएको उनको भनाइ छ ।

Agni Group

उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने नेपालको लक्ष्यमा कुनै शंका नगर्न विश्व समुदायलाई आग्रह गरे ।

विकसित देशले उत्सर्जन गरेको कार्बनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उनले बताए ।

यहाँका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेका कारणले नभएर अरू देशले गर्दा भएको भन्दै उनले विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका निम्ति आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन न्यूनीकरणका निम्ति विभिन्न ‘फन्ड’हरूबाट नेपालले पनि सहयोग पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने उनले बताए ।

सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ रूपमा परिपूर्तिको सुनिश्चितता गर्ने गरी यहाँ जलविद्युत्मा लगानी भइरहेको उनले सुनाए ।

 

Your Views
Related News