वीरेन्द्रनगर : कात्तिक १७ मा भूकम्प गएयता कर्णालीमा ६ सय ६ परकम्प गएका छन्। भूकम्पबाट पीडित यहाँका बासिन्दा हरेक दिन परकम्पको सामना गरिरहेका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार १८ दिनमा ६ सय ६ कम्पन गएका हुन्। केन्द्रका अनुसार एकैदिन १ सय ७९ वटासम्म परकम्प गएका थिए।

कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण १ सय ५५ जनाको ज्यान गएको थियो। २ सय बढी घाइते भए। हजारौं घर ध्वस्त भए भने हजारौं परिवार घरबारविहीन छन्। हजारौं पशुवस्तु मारिए। भूकम्पछिका निरन्तर परकम्पका कारण कर्णालीवासी त्रासमै छन्।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको ६ दशमलव ४ रेक्टर स्केल मापन गरिएको भूकम्पपछि आइतबार ३ बजेसम्म ६ सय ६ परकम्प गए। उनले भने, ‘सुरुवाति दिनको तुलनामा पछिल्ला दिनमा परकम्पको संख्या घट्दो अवस्थामा छ।’ केन्द्रका अनुसार ४ रेक्टर स्केलभन्दा माथिका १३ परकम्प र ४ रेक्टर स्केलभन्दा तलका ५ सय ९३ परकम्प गएका हुन्।

केन्द्रका प्रमुख तामाङका अनुसार अझै पनि यस्ता परकम्पहरू आउन सक्ने सम्भावना छ। पछिल्ला वर्षहरूमा कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा पटक–पटक भूकम्पका धक्काहरू आइरहेका छन्। विज्ञहरूले पनि नेपालको पश्चिम भेकमा कुनै पनि समय भूकम्पको ठूलो धक्का आउन सक्ने जोखिम कायमै रहेको बताउँदै आएका छन्।

 

Your Views
Related News