गुलरिया : बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित तुलापुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । कोठा न्यानो बनाउन राखिएको तसलाबाट आगो फैलिएपछि उनीहरुको मृत्यु भएको हो ।

आगलामीमा परी अन्दाजी ७ वर्षीय कृष चन्द, १८ महिनाको कार्तिक चन्द, ९ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । मृतहरुको शव घटनास्थलमै छ । घटनामा  २७ वर्षीया करिस्मा चन्द घाईते भएकी छिन् । उनको बर्दिया अस्पताल गुलरियामा उपचार भैरहेको छ ।

भरत चन्दको ईंटामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइ घाइतेको उद्धार गरिएको छ । आगलागीबाट एउटा कोठा पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनास्थल प्रहरीले नियन्त्रणमा लिइ मुचुल्का बनाएकोले अनुसन्धानबाट घटनाको थप बास्तविकता पुष्टि हुने डीएसपी अर्यालको भनाइ छ ।

ताप्न राखिएको आगोबाट आगलागी भएको भन्ने कुरा आएको गुलरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतमले बताए । गएराती साढे १० बजेतिर आगलागी भएको स्थानीय मार्फत जानकारी पाएको उनले बताएका छन् ।

 

Your Views
Related News