काठमाडौँ । पार्टीको औपचारिक कार्यक्रममा अमर्यादित र अराजक हर्कत देखाएको भन्दै नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटीले जिल्लाका दुई प्रभावशाली नेतामाथि कारबाहीको सिफारिस गरेको छ ।

कमिटी अध्यक्ष काजीमान थिङको अध्यक्षमा बसेको बैठकले सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल र गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ‘पुकार’ तथा प्रदेश कमिटी सदस्य घनश्याम बस्नेतमाथि कारबाही गर्न सर्वसम्मत निर्णयसहित प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

दीपा बोहोरा माओवादीका सांसद राजन दाहालकी पत्नी हुन् भने ज्वाला पनि राजन गुटका बफादार नेता हुन् । दुवै जनाले सार्वजनिक रूपमा माफी नमागेसम्म मरिण प्रवेश गर्न नदिनेसमेत निर्णय भएको एक सदस्यले बताए ।

गत कात्तिक तेस्रो साता मरिण गाउँपालिका कमिटीले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा पुगेका यी नेताले जिल्ला इन्चार्ज महेश्वर दाहाललाई प्रमुख अतिथि बनाएको विरोधमा अराजक हर्कत देखाएको र दीपा मञ्चबाटै फूल गुच्छा फालेर कार्यक्रम स्थलबाट हिँडेकी थिइन् ।

महेश्वर दाहाललाई प्रमुख अतिथि नबनाउन गरिएको राजन दाहालको प्रयास असफल भएपछि दीपा र ज्वालाको टोलीले कार्यक्रम भाँड्न खोजेको आरोप लगाइएको छ । यद्यपि उनीहरू कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

कार्यक्रम भाँड्न राजन पक्षले गाउँ–गाउँ गएर कार्यक्रममा नजान उर्दी नै लगाएको थियो । कार्यक्रम हुने नै भएपछि कार्यक्रमका प्रमुख अतिथि बनेका महेश्वर दाहाललाई कुट्ने, कालो मोसो दल्ने तयारीसहित राजनकी श्रीमती दीपा र जिल्ला सचिव ज्वाला न्यौपाने पुकारको समूह त्यहाँ पुगेको थियो ।

सोही घटनालाई लिएर गाउँपालिका कमिटीले तीन जनामाथि कारबाही गर्न सिफारिस गरेको छ । यसअघि राजन दाहालमाथि समेत कारबाही गर्न पेरिसडाँडामा उजुरी परेको थियो ।

 

Your Views
Related News