भैरहवा : रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा चरेस तस्करी भएपछि सीमा क्षेत्रमा रहेको तस्करको कवाड गोदामलाई भत्काइएको छ।

कवाड तस्करहरूले प्रहरीको मिलोमतोमा विगतदेखि नै मैनिहवा नाकाबाट कवाड तस्करी गर्दै आएका थिए। सीमाबाट लागुऔषध तस्करीमा हुन थालेपछि गोदाम भत्काइएको हो। तस्करहरूले निहवा नाकाबाट तस्करी गरिएको ठूलो परिमाणमा लागुऔषध चरेस भारतीय प्रहरीले बरामद गरेको थियो।

रुपन्देहीको सीमानाकाबाट तस्करी भएको एक सय ७३ किलो चरेससहित भारतीय प्रहरीले दुई पटक गरी ७ जनालाई पक्राउ गरेको थियो। भारतीय प्रहरीले कवाड तस्करको मुख्य नाइके संजय यादवसहित टोलीलाई चरेससहित पक्राउ गरेपछि हालः जिल्लाको मैनिहवा नाकाबाट कवाड तस्करी रोकिन पुगेको छ।

सीमा क्षेत्रमा रहेको ए.एस.पी. स्क्रेप सप्लायर्स नामक कवाड संकलन गर्ने व्यवसायप्रति स्थानीयको गुनासो, अवैधरूपमा सञ्चालन र अवैध गतिविधि हुनसक्ने भएकाले गोदामको गेट तथा अस्थायी पर्खाल डोजर लगाएर भत्काई व्यवसाय सञ्चालनमा रोक लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विधाप्रसाद यादवले बताए।

उक्त गोदामबाट ट्रक र ट्याक्टरमा भारतमा अधिक कवाड तस्करी भएपछि जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो पुगेको थियो। त्यसपश्चात उक्त कवाड गोदाम हटाउनका लागि करिब २ महिनाअघि निर्णय भए पनि हटेको थिएन। कवाड तस्करहरूले ठूलो परिमाणमा भारतमा चरेस तस्करी गरेको विषयमा अन्नपूर्ण अनलाइनले समाचार प्रकाशित गरेपछि उक्त कवाड गोदाम भत्काई व्यवसाय सञ्चालनमा रोक लगाइएको हो।

 

Your Views
Related News