काठमाडौं : एनसेलले शेयर खरिद बिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ। मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीबिनै एनसेलको ८० प्रतिशत शेयर बेचेकोबारे  दूरसञ्चार प्राधिकरणले पत्रको जवाफ मंगलबार एनसेलले दिएको हो।

शेयर खरिद-बिक्रीसम्बन्धी कागजात संकलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै २ बुँदे जवाफ फठाएको छ।

जवाफको पहिलो बुँदामा भनिएको छ, ‘यस कम्पनीलाई प्राप्त जानकारी अनुसार यस कम्पनीको शेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत शेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बीच शेयर खरिद बिक्री सम्झौता भए गरेकोले तहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित शेयर खरिद बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनको क्रममा रहेको व्यहोरा सादर अवगत गराउन चाहन्छौं।’

पत्रमा एनसेल आजियटा लिमिटेडले नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै सेयर किनबेच हुने जनाएको छ।  जवाफको दोस्रो बुँदामा भनिएको छ,‘एनसेल आजिएटा लिमिटेड कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानूनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध रहे भएको तहाँ प्राधिकरणमा अवगतै छ। अतः तहाँको पत्रमा उल्लिखित नियमावली र विनियमावलीका प्रावधानहरुको पूर्ण परिपालना गर्न सदा झैं एनसेल आजिएटा लिमिटेडप्रति रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजातहरु संकलन गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम तहाँ प्राधिकरणसमक्ष शेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौं।’

दूरसञ्चार नियमावलीमा चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गरेको थियो। एनसेलको शेयर खरिदमा चलखेल र शंकास्पद भएको भन्दै छानबीन गर्नुपर्ने आवाज उठेको छ।

 

Your Views
Related News