फिदिम : बैतडीको झुलाघाटदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समृद्धिका लागि संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर औपचारिक रुपमा टुंगिएको छ । मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्दै चिवामा पुगेर यात्रा टुंगिएको हो ।

 

मंसिर १४ गते मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा लोकमार्गको उद्गम बिन्दु चिवामा पुगेर १८ औँ दिनमा टुंगिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किम सिमाना नजिकै चिवा भञ्ज्याङमा झण्डोत्तोलन गरेर यात्राको समापान गरेका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संकल्प यात्रा उपलब्धिमुलक भएको बताए । ‘यो यात्राले नेपाललाई चिनाएको छ’ओलीले भने,‘हामीले पनि देश चिन्ने र जनताका पीर मर्का र समस्याहरु चिन्ने मौका पायौँ ।’

पाँचथर सदरमुकाम फिदिमबाट हेलिकप्टरबाट ओली चिवाभञ्ज्याङ पुगेका थिए। समापन कार्यक्रमलाई सम्बोधन गरेर उनी हेलिकप्टरबाटै काठमाडौं फर्किएका छन् ।

स्वास्थ्यको कारण देखाउँदै ओलीले च्याङ्थापुको कोण सभालाई सम्बोधन नगरी फर्किएका हुन् । याङवरक गाउँपालिकाको प्रशासकीय भवन पनि ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

पहाडको बसाईसराईलाई रोक्ने र पहाडलाई समृद्ध बनाउने उद्देश्यका साथ एमालेले संकल्प यात्रा गरेको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यात्रामा सहभागी र सहयोग गर्नेहरुलाई धन्यवाद दिए।

 

Your Views
Related News