सिमरा : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढस्थित भमरामा बुधबार दुई मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७प ९४४ र निजगढबाट रौतहटतर्फ जाँदै गरेको प्र.१–०५–००१प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बागमती नगरपालिका ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदीप लामा रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बलको मोटरसाइकलमा सवार २९ वर्षीय बाबुराम सुनुवार सामान्य घाइते भएका छन् । घाइते सुनुवारको निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यो सँगै बारामा एकैदिनमा दुर्घटनामा परी पाँचजनाले ज्यान गुमाएका छन् । यसअघि त्रिभुवन राजपथअन्तर्गत पथलैया–हेटौडा सडकखण्डको तीन नम्बर पुलमा बुधबार बिहान दुई बजे बस र ट्रक ठोक्किदा तीन जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन् ।

काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो । दुर्घटनामा २७ जना घाइते भएका थिए  । घाइतेमध्ये सातको अवस्था गम्भीर छ ।

 

Your Views
Related News