बुटवल : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै कांग्रेसमा असन्तुष्ट बनेको छ। मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई उद्योग तथा यातायात मन्त्री र माओवादीका कृष्णा केसीलाई शहरी विकास मन्त्रि नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका छन्।

पार्टीमा कुनै छलफल नगरी मुख्यमन्त्री चौधरीले जुनियर व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रदेश समितिका पदाधिकारीहरूले नै असन्तुष्टि जनाएका हुन्। मन्त्री नियुक्ति विषयमा छलफल गर्न भोली बिहान देउखुरीमा संसदीय बोर्डको बैठक बोलाइएको छ।

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टीमा छलफल नगरी मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको भन्दै यसले पार्टीलाई हित नगर्ने बताए। `पार्टी लामो समय योगदान गरेका व्यक्तिहरू हुनुहुन्छ, पार्टी भित्रको छलफलले नै व्यक्ति टुंग्याउने गर्नुपर्छ।’ उनले भने, ‘तर मुख्यमन्त्रीले पार्टीलाई बेवास्था गर्नुभएको देखियो।´

महामन्त्री खनालले मुख्यमन्त्रीलाई यसअघि नै पार्टीमा छलफल नगरी अघि बढ्दा कठिने हुने भन्दाभन्दै पनि पार्टीलाई अवमूल्यन गरेको बताए। यसै विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको उनले बताए। लुम्बिनी प्रदेश सरकारको  काम कारबाहीका विषयमा पनि मुख्यमन्त्रीले पार्टीसँग कुनै छलफल नगरेको असन्तुष्टि पार्टी प्रदेश समितिमा छ।

 

Your Views
Related News