काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी मुद्राको सिञ्चिति इतिहासकै उच्च रहेको दाबी गरेका छन्। देशबासीका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले १५७ अर्ब रुपैयाँले विदेशी मुद्रा बढेको दाबी गरे। उनले प्रधानमन्त्री बन्ने बेलामा प्रतिवद्धता गरेअनुसार नै आफूले एक वर्षको रिपोर्ट कार्ड सार्वजनिक गरेको बताए।

यसबीचमा सार्वजनिक संस्थानहरू नाफामा गएको उनको दाबी छ। उनले नेपाल आयल निगम, विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम नाफा गएको दाबी गरे। तर आफूले सोचेको जस्तो आर्थिक वृद्धिदर भने नभएको उनले बताए। प्रधानमन्त्री दाहालले त्यसको जिम्मेवारी आफैंले लिने स्वीकारे।

‘सरकारसँगै मेरो प्रतिवद्धता थियो, रिपोर्ट कार्ड पेस गर्छु। तर म प्रतिरक्षात्मक छैन किनकि समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्। एक वर्षअघि जम्मा तीन महिना आयात धान्नसक्ने दिवालिया बन्ने त्रासमा बाँचेको देशसँग अहिले विदेशी मुद्राको सिञ्चिति इतिहासकै उच्च छ। १५७ अर्ब रुपैयाँले बढेको छ। सधैं घाटामा रहेको संस्थान नाफामा जान थालेका छन्। तर आर्थिक वृद्धि मैले सोचेको भन्दा कम छ। यसको आन्तरिक र बाह्य कारण देखाएर जिम्मेवारी नलिन चाहन्नँ। यसको जडमा पुगेर समस्या समाधान गर्नेतिर लाग्छु। दुई अंकको आर्थिक वृद्धिको लक्ष्य नराखी देशको विकास सम्भव छैन,’ उनले भने।

 

Your Views
Related News