काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपालको संविधानमाथि देश -विदेशी शक्तिहरूले षड्यन्त्रको तानाबाना बुनिरहेको बताएका छन्।

बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटीको सातौं बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले संविधानमाथि प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण  फेरि सुरु गरेकाले राजनीतिक दलहरू गम्भीर हुन आग्रह गरे।

‘विभिन्न देश -विदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रको तानाबाना बुनिरहेका छन्,’उनले भने,’संविधानमाथि नै प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्।’

उनले संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रबाट विद्रोह गरेर बाहिर निस्कनु परेको र त्यसबाट सफलता मिलिसकेको बताए।

अध्यक्ष नेपालले संविधान, सुशासन र राष्ट्रियताका पक्षमा भएका शक्तिहरूलाई एकतावद्ध गर्नुपर्ने बेला भएको बताए।  उनले एकीकृत समाजवादी पार्टी नेपालको राजनीतिमा पहिलो नम्बरमा नभएपनि पार्टीको हैसियत कमजोर नभएको स्पष्ट पारे।

उनले भने,’अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा पहिलो नम्बरमा नभएपनि पार्टीको हैसियत कमजोर छैन। प्रत्यक्ष निर्वाचनमा १० सिट जित्नु चानचुने कुरा होइन।  ७७ जिल्लामा पार्टी कमिटीहरू छन्।’

उनले पार्टी बलियो बनाउन विगतका कमीकमजोरीहरूको समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरे। पार्टीप्रति जनताले धेरै आशा गरेकाले जनताको साथमै रहन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पदअनुसारको जिम्मेवारी पूरा गर्न समेत आग्रह गरे। उनले आफूले नेपालको राजनीतिको कोर्स चेन्ज गर्दै आएको दावी गरे। उनले भने,’नेपालको राजनीतिमा हाम्रो हैसियत छ भन्ने कुरालाई बिर्सनु हुँदैन। हामीले नेपालको राजनीतिको कोर्स चेन्ज गर्दै आएका छौं,’उनले भने,’राजनीतिलाई ठिक दिशामा लिएर गइरहेका छौं। पार्टीप्रति आशावादी छु।’

नेता नेपालले बुधबार बिहान मात्रै समाजवादी मोर्चाको बैठक बसेको र बैठकमा नेपालको पछिल्लो राजनीति अवस्थाबारे गम्भीर छलफल भएको बताए।

 

Your Views
Related News