धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। धनकुटाबाट सप्तकोसी नदी हुँदै तस्करी गरी चतरा ल्याएर एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा सुनसरी प्रहरीले एम्बुलेन्ससहित गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए।

चतराको सप्तकोसी किनारमा मे १ च ५१९ नम्बरको एम्बुलेन्समा गाँजा लोड गर्दै गरेको अवस्थामा एम्बुलेन्स र २६६ केजी ४०० ग्राम गाँजा बरामद गरिएको डीएसपी भण्डारीले बताए। प्रहरीले गाँजा र एम्बुलेन्स बरामद गरे पनि तस्करीमा संलग्न व्यक्ति र एम्बुलेन्स चालक फरार भएका छन्। डीएसपी भण्डारीले चालक र गाँजा तस्करी गर्ने व्यक्तिको पहिचान भएकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए।

धनकुटाको सहिदभूमि गाउँपालिकामा उत्पादन हुने गाँजा धनकुटा प्रहरी र प्रदेश १ प्रहरी कार्यालयको सेटिङमा फडानी नगरी सुनसरी ल्याएर तस्करी हुने गरेको छ। १५ दिनअघि सशस्त्र प्रहरीले धनकुटाको केही भागमा गाँजा फडानी गरेको भए पनि सबै ठाउँमा अवैध गाँजा फडानी नगरेकाले तस्करहरूले किसानलाई थोरै मूल्य दिएर महंगोमा बिक्री गर्दै आएका छन्।

 

Your Views
Related News