काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा नयाँ नेताहरूलाई अवसर दिनुपर्ने माग उठेको छ। बैठकमा बोल्ने केही नेताहरूले खोजेर भए पनि नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका हुन्।

गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा पराजित भएका नेताहरू राष्ट्रियसभामा लैजाँदा जनतामा नकारात्मक सन्देश प्रवाह हुने भन्दै उनीहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। राष्ट्रिय सभा निर्वाचनमा पुरानै नेताहरूलाई लैजान शीर्ष नेतृत्वको दबाब आएपछि कांग्रेसको केन्द्रीय कमिटी बैठकमा यस विषयमा खुलेरै बहस भएको छ।

‘कसलाई राष्ट्रिय सभामा लैजाने विषयमा देशभरिक सिफारिसको लर्को चलेको छ। सिफारिस पर्नेमा पुरानै नेताहरूको लाम छ। केही नेताहरू हालै सम्पन्न निर्वाचनमा पराजित भएका छन् भने केही पटक-पटक अवसर भएका छन्। अब नयाँलाई अवसर दिनुपर्ने समय आएको भनेर हामीले माग उठाएका छौं,’ सहभागी एक केन्द्रीय सदस्यले भने।

कांग्रेसका सूचना विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय सभा निर्वाचन बैठकको एजेण्डा नै भएको बताए। उनले केही नेताहरूले नयाँलाई न्याय गर्नुपर्ने भन्दै माग गरेको बताए। ‘राष्ट्रिय सभामा निरन्तर एउटैलाई नहोदोर्‍याउन माग उठेको छ। केही साथीहरूले खोजेर भए पनि नयाँलाई अवसर दिनुपर्ने, उनीहरूलाई न्याय गर्नुपर्ने आवाज उठाउनुभएको छ,’ उनले भने।
बैठकमा सांगठनिक गतिविधि, महासमिति बैठकको तयारी, मेलमिलाप दिवसको तयारी, समुदायमा कांग्रेस कार्यक्रमलगायत विषयमा छलफल भइरहेको उनले बताए।

 

Your Views
Related News