काठमाडौं : ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा दुईजना युवाको ज्यान गएपछि सो घटनाको सत्य- तथ्य छानबिन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो। २३ वर्षीय दैलेखका  सुजन राउत र २२ वर्षीय डोटीका वीरेन्द्र साह छन्।

घटनालगत्तै नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य अध्ययन गरी छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न प्रदर्शनकारीहरूले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।

हरेक नागरिकले आफ्ना अधिकारहरूको विषयमा उठान गर्दा शान्तिपूर्ण मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न  सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन समेत कांग्रेसले अपिल गरेको छ।

शुक्रबार अपरान्ह भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए।  आगजनी पछिको परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास र गोली प्रहार गरेको थियो।

सो घटनामा घाइते भएका दुईजनाको ज्यान गएको छ भने दर्जन बढी घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।  उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ। आगजनीपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो।

 

Your Views
Related News